अहिंसात्मक अभियन्ताको दु:खद् अन्त्य

विश्वास नेपालीसामान्य गरिब, भूमिहीन र दलित परिवारमा जन्मिएका बलदेवले जीवनभरी कडा सङ्घर्ष गर्नु पर्यो । दुःख के हो चिनेका थिए र दुःखमा सङ्घर्ष गर्दै अघि बढ्न प्रेरणा दिएका बाँडेका थिए । 

विश्वास नेपाली 

भूमि तथा दलित अधिकार अभियान तथा आन्दोलनमा परिचित नाम हो बलदेव राम । सप्तरीको कञ्चनपुरमा जन्मिएका बलदेव जीवनभर अधिकार प्राप्ती र मुक्तीको लागि सङ्घर्ष गर्दागर्दै हामी माझबाट विदा भए । हामीसँग उनीसँग विताएको पल र उनले दिएको प्रेरणामात्र बाँकी रहेको छ । अलविदा बलदेव दाई !  

                 

अधिकार प्राप्तीको आन्दोलनमा उनको ठूलो सङ्घर्ष र योगदान छ । बलदेव दाईले जीवनभर अधिकार र मुक्तिको लामो लडाईं लडे । व्यक्तिगत स्वार्थ कहिल्यै हेरेनन्, सम्पूर्ण अधिकारविहीनको अधिकार रक्षाको लागि बोले । डटे र जीवनको अन्तिम क्षणसम्म पनि डटिरहे । उनले नेतृत्व गरेको धेरै आन्दोलनहरू सफल भएका छन् । कतिपय हुने क्रममा छ । अभियान भन्ने कुरा एकै पटकमा टुङ्गिने विषय होइन, यो निरन्तर चलिरहन्छ । उनी एक अथक योद्धा थिए । बलदेव दाइले दिनुभएको प्रेरणा, देखाउनु भएको बाटो, पु¥याउनु भएको योगदानको सम्झनाहरू ताजै छन् र रहिरहनेछन् । उहाँको यो दुःखद् अन्त्य समग्र परिवर्तनका पक्षघर नेपालीको लागि यतिबेला एक दुःखद् क्षण हुन पुगेको छ । 

 

२०७४ साउन १७ गते ६७ वर्षको अल्प उमरमै उनी यो संसारबाट विदा भए । उनी हृदयघातको कारण यो संसार छाड्न पुगेको बताइएको छ । यो खबरले सबैलाई मर्माहत बनाएको छ । बलदेव दाइको देहान्तसँगै यतिबेला समग्र नेपालमा उनले जीवनभर पु¥याउनुभएको योगदानको चर्चा भइरहेका छन् । छापा, अनलाइन समाचार माध्यम र विभिन्न सामाजिक सञ्चालहरूमा समेत उनको योगदानको चर्चा परिचर्चा भइरहेका छन्, धेरैले उनलाई सम्झेका छन् । निःश्वार्थ भावले मुक्तीको लर्डांइमा लागेका उनी जस्ता व्यक्तिको कदर हुनुपर्छ । 

 

भूमि अधिकार आन्दोलन, दलित अधिकार आन्दोलन र सिनो छोड आन्दोलन । यी आन्दोलनमा उनले कुशल नेतृत्व गरेका थिए । सामान्य गरिब, भूमिहीन र दलित परिवारमा जन्मिएका बलदेवले जीवनभरी कडा सङ्घर्ष गर्नु पर्यो । दुःख के हो चिनेका थिए र दुःखमा सङ्घर्ष गर्दै अघि बढ्न प्रेरणा दिएका बाँडेका थिए । 

 

जीवनमा औपचारिक क्षिक्षा धेरै नलिएका बलदेवको झोलामा भने सधैं जीवन दर्शन, सामाजिक आन्दोलन, अहिंसात्मक आन्दोलनका पुस्तकहरू हुन्थ्ये । उनी अध्ययन गर्थे र सिकेको कुरा सङ्गठनका अगुवाहरू र साथीभाई माझ बताउथे । उनको यो शैलीले आन्दोलनमा थप ऊर्जा मिलेको थियो । 

 

मलाई सम्झना छ, २०६२ सालको पुस महिनातिर बलदेव दाई रसुवा सदरमुकाम धुन्चे आइपुग्नु भएको थियो । जतिबेला म भर्खरै भूमि अधिकार अभियानमा लाग्न खाज्दै थिएँ । रसुवा सदरमुकाम सधैंभरी अति नै जाडो क्षेत्र हो । बाक्लो लुगा लगाउनुपर्ने बाध्यता हुन्छ । तर उनी एउटा कछाड बेरेर पातलो लुगा लगाएर टाउँकोमा फेटा बाँधेर लुगलुग काम्दै धुन्चे पुग्नुभएको थियो । अति नै साधारण भेषमा । 

 

उहाँलाई जाडो–गर्मीको प्रवाह थिएन, आफूजस्तै अधिकार विहीनलाई कसरी अधिकार प्राप्तिको अभियानमा सङ्गठित गर्ने भन्ने चिन्ता थियो । धेरै चिन्तन गर्थे । त्यतीबेला धुन्चेमा आफ्नो अनुभव र सङ्घर्षको कथा गज्जवले सुनाउदै अभियानमा लाग्न उत्प्रेरित गर्नुभएको थियो । बिर्ता, गुठी र सुकुमबासी समस्याले वर्षाैदेखि सताइएका रसुवाली किसानहरू त्यहाँ जम्मा भएका थियौं । त्यही बेलादेखि उहाँसँग जोडिएको सम्बन्ध लामो समय रह्यो तर, दैवको नियतिको खेल भनझैं आज हामीमाझ आन्दोलनको अग्रज रहनुभएन ।

 

जीवनमा औपचारिक शिक्षा धेरै नलिएका भएपनि आफ्नो मुद्दामा तिख्खर र स्पष्ट वाक शक्ति, सामाजिक तथा अहिंसात्मक आन्दोलनको कुशल नेतृत्व गर्न सक्ने उनमा खुवी थियो । जीवनभर दुःख पाएर पनि दुःखको बदला लिन हुन्न भावना, अधिकार लिने लडाईं अहिंसात्मक र रचानात्मक हुनुपर्छ, यसैबाट अधिकार स्थापित गर्न सकिन्छ भन्ने प्रेरणादायी विचार, सादा जीवन उच्च विचार राख्ने व्यक्ति बलदेव दाइको धेरै सङ्घर्षका क्षणहरू छन् । उनले सङ्घर्षपूर्ण आन्दोलन ‘सिनो छोड’ आन्दोलनबाट गरेका थिए । २०५६ सालमा सप्तरीको मधपट्टिको एउटा गाउँबाट चमार समुदायले सिनो नफाल्ने अडान लिएर आन्दोलन गरेका थिए । त्यसको कुशल नेतृत्व गर्दै बलदेव दाईले त्यसअघि चमार समुदायले सिनो पाल्नुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य गराई वषौंदेखिको एउटा बन्धनबाट मुक्त गराएका थिए । 

 

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको २ कार्यकाल नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएका बलदेव दाईले जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएको पाएका छौं । पटक पटक भएका आन्दोलन र अभियानहरू अहिंसात्मकरुपमा भएका थिए । भूमि अधिकार मञ्चमा तेतृत्व गर्दा गर्दै उहाँ २०६५ नेपाल सरकारले गठन गरेको उच्चस्तरीय बैज्ञानिक भूमि सुधार आयोगको सदस्य समेत भएर योगदान गर्नुभयो । उहाँले अधिकार प्राप्तीको आन्दोलमा पु¥याउनुभएको योगदानको पछिल्लो पुस्ताहरूले अनुसरण गर्नुपर्ने हुन्छ । अधिकार प्राप्तीको अभियान सकिएको छैन, अभियान सकिने विषय पनि होइन, यो निरन्तर छ त्यसैले अधिकारका् लडाईंमा सङ्गठित अगुवा, कार्यकर्ता र बलदेव राम जस्ता असल अगुवाहरूले देखाउनुभएको बाटोको अनुसरण गर्नुपर्ने हुन्छ ।