फर्केर आऊ घर

कबि-सुदेश सत्याल

पैसाले सबथोक आउँछ भने माया किनी ल्याउनु

पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु ?

हो सम्भाव्य विकास कार्य छ यही खाडी गयौ है तर

यो सानो झुपडी बुझे महल हो फर्केर आऊ घर  ।।१

 

मान्छे आज विदेशको झिलिमिली देखी रमाए पनि

आमाकै प्रिय हुन्छ काख जहिल्यै लाखै कमाए पनि ।

होमिन्छौ किन हो र ? बेच्न पसिना गर्नु यही जाँगर

आफ्नै देश सिगार्नु पर्दछ यहाँ फर्केर आऊ घर ।। २

 

बाँझो खेत जताततै छ जन हो के काम खोज्छौ भन

नेपाली हुनुमा छ गौरब स्वयम् के नाम खोज्छौ भन ?

गाईबस्तु चराउँथ्यौ चहुरमा ऐले खनेछौ पर

छाती आज छियाछिया भइसक्यो फर्केर आऊ घर ।। ३

 

देखाऊ बरू देशमै बसिरही पाखो पखेरो खनी

मोती फल्दछ है परिस्रम गरे यही बृत्तिकामा पनि ।

खोले साग ढिडो र गुन्द्रुकहरू खाएर बाँचिन्न र ?

पक्कै उन्नति हुन्छ पौरख गरे फर्केर आऊ घर ।। ४

 

बुझ्छौ गोप्य कुरा विदेशतिरका ढोका चियाए पछि

के फल्दैन हुँदैन के दशवटा नङ्ग्रा खियाए पछि ।

के जान्छौ र विदेशमा अब यही उद्योग धन्दा गर

आमाको अनुहार चाउरी सक्यो फर्केर आऊ घर ।। ५

यो कवितालाई कविकै स्वरमा सुन्न सक्नुहुनेछ । 

पहिलो संस्करण

दोस्रो संस्करण