पु्नै पर्ने गन्तव्य : गोसाइँथान

Phurpa Tamangहिन्दु धर्म र बौद्ध/बोन्पो धर्मावलम्बीहरूको आआफ्नै बुझाइ भए पनि कुण्डप्रति समान श्रद्धा, सामाजिक सदभाव र एक धार्मिक सहिष्णुता कायम रहनु सबैभन्दा राम्रो पक्ष हो।
फुर्पा तामाङ

गोसाइँकुण्डको उत्पत्ति कथा धेरै पुरानो छ। यो कथा हिन्दु धर्मशास्त्रमा भगवान् शिवजीसँग जोडिएको छ। स्थानीय तामाङ समुदायमा पनि रहेको छ। हिन्दु र तामाङ समुदायले यो कुण्डलाई असाध्यै महत्त्वपूर्ण ठान्छन्। हिन्दु, बौद्ध/बोन संस्कृति मान्ने तामाङ समुदाय र गोसाइँकुण्डको सांस्कृतिक साइनो असाध्यै पुरानो छ। हिन्दुहरू जेठमा पर्ने गंगा दशहरा र साउनको जनैपूणिर्माका दिन कुण्डमा स्नान गर्न पुग्छन्। तामाङ समुदाय भने जनैपूणिर्मा (बदौ छेबा चोङ्ङा) मा झाँक्रीसहित जान्छन्। सेसे बोन्पो गीत गाएर नाच्दै जाँदा मनोकामना पूरा हुने उनीहरूको विश्वास रहेको छ।

वैदिक तामाङ भाषा अर्थात शास्त्रीय पूजापाठ गर्ने भाषामा 'गो' भनेको टाउको वा शिर हो। 'सा' भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ। यसले भार्खुगाउँको सिरान (शिर) को पवित्र हिमालय भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ। गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम हो। तामाङ भाषामा कुण्डलाई कार्पु छोकर (सेतोकुण्ड), ग्यो, ह्वे पनि भन्छन्। लामा र झाँक्रीले ह्याप क्षेह्याल क्षेम्बो, ह्युम फामा डोल्मो, ल्हावाङबु ग्याबक्षेन भन्छन्। छोटकरीमा ल्हा क्षेम्बो मादेउ भनेर पुकार्छन्। ह्याप भनेको पिता ह्युम भनेको माता हो। यो कुण्डलाई बेनग्यायी छोसा र ल्हाबेन ग्यायी छोसा -सयौं बोन्पोहरू भेला हुने पवित्रधाम) भनिन्छ। तामाङ समुदायकै गोले वंशको बोन्पो -झाँक्री) हरू भने गोसाइँकुण्ड जाँदैनन्। उहिले भैरव कुण्ड (छोना) को नागले गोले बोन्पो (गुलबोन्पो) लाई तानेर कुण्डभित्र लगेको कथा छ।

हिन्दु धर्म र बौद्ध/बोन्पो धर्मावलम्बीहरूको आआफ्नै बुझाइ भए पनि कुण्डप्रति समान श्रद्धा, सामाजिक सदभाव र एक धार्मिक सहिष्णुता कायम रहनु सबैभन्दा राम्रो पक्ष हो।

काठमाडौंको बालाजुबाट बस वा निजी गाडीमा नुवाकोट-त्रिशूली हुँदै धुन्चे पुग्नुपर्छ। दोस्रो दिन धुन्चेबाट उकालो पैदल यात्रा। खन्दी, ढिम्सा चढेर चन्दनबारी -सिङगोम्पा) मा बास। तेस्रो दिन, च्योलाङपाटी, लौरीबिना उकालो, बुद्ध डाँडा (नौक्यागाङ) बाट तेर्सो लागेपछि कुण्ड -४३८० मिटर) पुगिन्छ। ६ देखि ८ घन्टा हिँड्नुपर्छ। चौथो दिन धुन्चे। पाँचौं दिन काठमाडौं। काठमाडौंको सुन्दरीजलबाट ठाडेपाटी हुँदै वा मेलम्चीबाट ठाडेपाटी भएर सूर्यकुण्ड छिचोलेर पनि पुग्न सकिन्छ। तर, सबैभन्दा राम्रो बाटो धुन्चे भएर जानु हो।

तातो र न्यानो लुगा। स्लिपिङ ब्याग। बर्सादी (रेनकोट), छाता, टर्च लाइट। नचिप्लिने जुत्ता। प्लास्टिकको ठूलो थैलो ओसिलो भुँइमा ओछ््याएर बस्न। दैनिक रु. १५ सय देखि २ हजार खर्च। खानेकुरा बोक्नु पर्दैन। तातो र झोल खानेकुराले फाइदा गर्छ। फस्ट एड्् ओखती बोक्नु राम्रो। लसुन खाँदा लेक लाग्दैन भन्ने गरिन्छ। जाँडरक्सी र मासु नखाएकै जाती। स्निकर चक्लेट र पोसिलो बिस्कुटले उकालोमा शक्ति दिन्छ।

एकै दिन कुण्ड पुग्छु भनेर छिटो हिँड्दा लेक लाग्ने खतरा बढ्छ। बिस्तारै उकालो चढ्नुपर्छ। साथीभाइसँग हिँड्ने तर कम्ती बोल्ने। वाकवाकी लाग्ने, रिंगटा लाग्ने, ज्वरो आउने, घरिघरि पिसाब र दिसा लाग्नुका साथै पहेँलो रङको देखा पर्‍यो भने लेक लागेको हो। यी लक्षण देखा पर्दैमा डराइहाल्नु पर्दैन। तर, बान्ता भयो भने तुरुन्तै तल फर्किनु बेस हुन्छ। लेक ढिम्सादेखि माथि मात्रै लाग्छ।

बौद्ध/बोन धर्मावलम्बीहरू पानीमा फोहोर फाल्दैनन्। पानीमा भगवान् हुन्छ भन्ने मान्यता राख्छन्। कुण्डमा नुहाउँछन् र फर्कन्छन् । तर, हिन्दुहरू कुण्डमा नुहाएपछि पेटीकोट, कट्टु, गन्जी र पूजासामग्री लगेका प्लास्टिक थैलाहरू कुण्डमै र त्यसका वरिपरि फाल्छन्। यसले गर्दा कुण्डमा प्रदूषण बढेको छ। पवित्र स्थलमा फोहोर गर्नु हुँदैन। फोहोरमैला व्यवस्थापन गर्नु जरुरी छ। दुई-तीन वर्षदेखिको फोहोर उठाउन सकेको छैन। त्रिशूलधाराको मुहानमा सिमेन्टले टालिएको रहेछ। त्यो फुटालेर पुरानो अवस्थामा ल्याउनुपर्छ। कुण्ड वरिपरिका होटलहरूलाई बुद्ध डाँडामा सार्नुपर्छ। कुण्डमा नुहाएर फर्किने बास बुद्ध डाँडामा बस्ने व्यवस्था गर्नुपर्छ। कुण्ड वरिपरि हिन्दु र बौद्ध/बोन्पो मन्दिर मात्र राख्नुपर्छ।

चन्दनबारीमा चौंरीगाईको दूधबाट बनेको याकचीज, मखन, छुर्पी पाइन्छ। यो शक्तिबर्धक खाद्य हो। चौंरीले लेकाली जडीबुटी, यार्चागुम्बु, पाँचऔंले, पदमचाल आदि घाँस खाएको हुनाले तागतिलो हुन्छ। धुन्चेमा रसुवाको आलु, निहुरो, लालीगुराँसको जुस, वाइन, तामाङ (नुप्पा) टोपी, पटुका, झोला, कोदाको रक्सी किन्न पाइन्छ।