मोतिराम महाकाव्य- प्रारम्भ मंगलाचरण खण्ड (सर्ग)

   चन्द्रप्रसाद न्यौपाने-(चन्द्रयुगबाट )   

छन्द : शार्दूलविक्रीडित

 

 
प्यारी आत्मन फेरि काव्य म थपूँ बाँकी कुरा के गरूँ 
लेखेँ राष्ट्रविभूतिका अलि कथा लेखेर लेखी मरूँ 
मेरो देश म कीर्ति राखुँ कति के यी काव्य बाँचून् भनी 
आशा पाठकसंग गर्दछु सधैँ छन् पाठ बाँच्ने पनि

हे प्यारी, सुन मोतिराम प्रतिभा साँच्चै चमत्कार हुन् 
बाँचेका पनि तीस वर्ष तर ऊ जो प्राप्ति आश्चर्य हुन् 
मोतीकै गरूँ थोर वर्णन सखी, सुन्दै रहू ध्यानले 
सम्झेँ जो इतिहास हो र सकियो हुन् प्रेरणास्रोत ए !

ओहो ! अद्भुत लाग्छ सृष्टि सब यो पृथ्वी छ आश्चर्य यो 
जस्को रूप अनेक छन् बदलिँदा के पो चमत्कार हो ? 
यौटा अद्भुत सृष्टि मानिस म हूँ बोल्दैछु चैतन्यले 
मैले कर्म गरेँ बुझेँ यदि भने पैलो छ सम्मान ए !

जे जो सृष्टि अभेद्य छन् जगतमा लाग्छन् सबै सुन्दर 
धर्तीमा जति जीव छन् समरमा कल्याणको मङ्गल 
तारा, सूर्य अकाश विश्व भवमा दुर्भेद्य बाँकीकन
लेखी शब्द र भावना प्रकटको मैले गरेँ अर्पण

बिर्सी सृष्टि–जगत् र लोक ममता एकत्वध्यानी बनी 
लोकैको हितनिम्ति चिन्तन लिने काव्यत्वखानी मुनि 
लेखी अर्पण गर्छु काव्यछवि यो कीर्तित्वमा उच्च होस् 
जल्ले मार्ग खनोस् नयाँ प्रगतिको आदर्श यौटा बनोस्

आहा ! प्राकृत सम्पदासित भुलूँ थोप्लो बनी सूक्ष्म म 
सानो विन्दु बिलाउँदा तब त्यहाँ फैलन्छ मेरो मन 
यौटा तत्व म सृष्टिमा प्रकृतिको निर्देश उस्तै छ यो 
के सामथ्र्य ममा दिने कुन कुरा रित्तो छ आदेश यो

खै के अर्पण गर्नु के छ र ममा रित्तो छु संसारमा 
थोप्लो एक छ सूक्ष्म–सूक्ष्म भवको यी शब्दका भावना 
सारा व्यक्त अव्यक्त भाव मनको संकोच छाडीकन
कल्ले गर्दछ आँट, अर्पण गरूँ ! सक्दैन कस्तै जन

जन्मेको घर यो समाज पहिलो प्राणीहरूमा सम 
लेखी शब्द गरूँ समर्पण भनी बग्दैछु यो काव्यमा 
प्राणीमात्र सजीव छन् जगतमा भ्रामात्म यी तर्कना 
पानी, वायु सजीव हुन् तब गरूँ यो काव्यको अर्पण

पानी जीवहरू चलाइ गतिमा ऊ कर्मदाता भयो 
जस्को शक्ति अपार अद्भुत छ रे ! यो सृष्टिमा देखियो
पानी अद्भुत शक्ति हो जगतको निर्जीव ऊ होइन
पानी ईश्वर हो उही प्रथम हो उस्कै म हूँ अर्पण

के हो अद्भुत सृष्टि बुझ्दिन कतै जान्दै नजानीकन
व्याख्या गर्न अनर्थ मूर्ख म बनूँ गर्दैछु के कल्पना 
हामी कल्पित छौँ अचेत मनले के सत्यको कामना 
जे देखेँ सब ठीक छन् जगतका यी सृष्टि हुन् कल्पना

मैले लेखिन सत्य कल्पित भएँ के मा थियो सत्यता
ठानेँ एक म कल्पना यदि भए यस्तै रह्यो सभ्यता
झुट्टो होइन काव्य भन्दछु भने हूँ मूर्ख यी सृष्टिमा
साँच्चै ठान्दछु सत्य यो यदि भने हुन् मूर्खका कल्पना

यौटा मूर्ख म हूँ र कल्पित भएँ वा कल्पनाशील छु 
हो वा ईश्वर कल्पना जगतको आदेश पो मान्दछु 
मेरो अद्भुत कल्पना छ मनको प्राणीहरूका सब 
यौटै शक्ति छ कल्पना तब यहाँ संसारमै ढाक्दछ

गुच्छा एक म सुम्पुँ पुष्पित छटा श्रृङ्गारका पक्षमा
खुल्ला मोहन प्रेमको नयनमा आस्था सहीछापमा
मोतीराम सुधामयी बहरका हुन् जेष्ठ श्रृंगारित 
त्यै साहित्य बन्यो अजम्मर यहाँ सद्प्रेम आधारित

हुन्छन् कालजयी करुण कविता जो दुःखमा आउँछ 
उस्तै मानिस हुन् र चोट सबमा दुख्ने उही घाउ छ 
अर्को सृष्टि विशेष प्रेमपथको श्रृङ्गारका काव्यले
बाँच्नै पाउँछ दीर्घकाल मनमा आनन्द आनन्दले

देखिन्छन् सबतर्फ क्रूर झगडा चीत्कार कोलाहल 
आत्मा शान्त भएन आज किन हो नैराश्यता छन् तर 
पाएँ जीवन चल्छ नित्य गतिमा नैराश्य के मानुँ म 
मेरो जीवित कर्मजीवन छ यो क्या ! जिन्दगी दर्शन

आफ्नै दर्शन कोरुँ जीवन छ जो संसारमा उज्ज्वल
जस्मा बल्दछ दीप झल्मल सधैँ छैनन् अँध्यारा घर
के हो दर्शन कर्म चल्दछ जहाँ लोकोपकारी बनी
इच्छा तेज बनूँ म चम्चम गरी चम्कूँ उज्यालो छरी

यौटा क्रान्ति गरूँ नयाँपन बनोस् नैराश्यको देशमा
बालूँ तेज जली स्वयम् कठिन यो काव्यत्वको क्षेत्रमा
आफैँ जल्न सके प्रकाश अरुमा पर्नेछ राम्रो गरी 
भन्लान् दीप अहा ! छ चम्चम सधैँ निभ्दैन कस्तै गरी

धर्ती लाग्दछ एक सुन्दर कला यो विश्वको माझमा
प्राणी छन् जसमा अनेक थरिका सद्प्रेमको काखमा
साझा भूमि हरेक नीति छ यहाँ तेरो र मेरो तर 
साँच्चै लाग्छ निराश जीवनकथा संसार के सुन्दर ?

साझा भूमि हरेक निम्ति छ भने छन् भावना सुन्दर
प्राणीबीच सधैँ विवाद छ भने साझा हुने के छ र ? 
मान्छे उन्नतिशील हो जगतको मान्छे महाशक्ति हो 
साझा होस् तब भावना हृदयको मानूँ कलाशक्ति त्यो

प्राणीमात्र सजीव आँतसितको काव्यत्वको भावना
पोखूँ आज भनी मसी कलमको बन्दैछु आफ्नो मन 
पैलो सृष्टि हरेक जीवन छ यो जो चालमा नित्य छ 
मेरो भन्नु यही छ जीवन कथा संसारचैँ रिक्त छ

मेरो जीवन छैन यो यदि भने संसारको अर्थ के ? 
जस्तो सालिक–मूर्ति बोल्दछ कहाँ निर्जीव त्यो व्यर्थ ए !
पाऊन् वीर उपाधि हुन्छ जिउँदो उत्साह प्रोत्साहन
मात्रै कीर्ति रहन्छ भोलि उसको बाँकी कुरा के भन !

पैलो स्वागत कर्मजीवन हुने यी कर्मका वीरमा
हुन्छन् जन्म र मृत्यु नित्य सबमा आश्चर्य छैनन् त्यहाँ
देख्ने तत्व छ जन्म मृत्यु तर खै सद्कर्मका क्षेत्रमा
प्यारो जीवन कर्मशील जिउँदो छन् जिन्दगी देशमा

यौटा काव्य रची समर्पण गरूँ यो विश्वको नाउँमा 
भाषा होइन भाव पुग्दछ उडी संसारकै गाउँमा 
मेरो कर्म यही छ नित्य सृजना यस्मै भुलोस् यो मन 
आफैँभित्र छ आत्मदेव पहिलो यो काव्यको अर्पण

सारा सृष्टि तथा जगत् र दुनियाँ जो कर्ममा व्यस्त छन् 
चल्दो नित्य क्रियाकलाप जति यी जो चालमा चल्दछन् 
जस्को भाव छ क्रान्ति नित्य सृजना नौला कलाको कला 
जस्मा अर्पण काव्य गर्दछु यहाँ छन् भावना चञ्चल

आँटी साहसपूर्ण योग्य प्रतिभा कर्मी युवा जोशिला 
चाहन्छन् अब पुग्छु चन्द्र सजिलै छन् भावना आँटिला 
छन् उद्देश्य महान यी युवकमा मेरो नमस्कार छ 
पृथ्वी, चन्द्र उचालून् युवकले यो सूक्ष्म संसार छ

प्यारो लाग्दछ मातृभूमि मनमा माटो भनी लोभिएँ 
आमाको ममता र वात्सल यही आधार यस्मै लिएँ 
पाएँ जीवन सातुसामल यहीँ शिक्षा र दीक्षा यहीँ 
चल्दो राज्य छ वर्तमान उसमा बिर्सन्न मैले कहीँ

लेखी अर्पण नव्य काव्य म गरूँ यो देशको निम्तिमा 
जस्को आँत छ मानवीय सृजना काव्यत्वको दृष्टिमा
यौटा नव्य समाज सिर्जन गरूँ आस्था लिने क्रान्तिको 
त्यस्ता योग्य महान पूर्वजहरू मार्गी थिए देशको

लाखौँ व्यक्त अव्यक्त ती सहिदका आस्था थिए जो थिए 
सुम्पेँ जीवन जो समाज हितका सङ्घर्षमा होमिए 
त्यस्ता सज्जन राष्ट्रसन्ततिहरू यी शब्दका काव्यमा 
बोल्दैछन् जिउँदै छ धन्य मन त्यो मैले गरेँ अर्पण

हामीले इतिहास बिर्सन गए हुन्नन् कुनै उन्नति 
के हेर्ने नमुना र संस्कृति कला मर्छन् पुराना गति 
पुर्खाको इतिहास नै पथ नयाँ राख्ने छ औजार रे !
सम्झूँ पूर्वज जो विचार मनका जो सभ्यतामा थिए

छोरानाति बनून् सुखी सयलमा बाँचुन् तिनी शान्तिले 
आस्था पूर्वजका थिए असल जो बिर्सेन यो काव्यले
पुर्खा होइन कल्पना मगजको जो सत्यता नै थियो 
जस्को कर्म फिँजारिंदा कलमले यो काव्यको जन्म भो

सच्चा कर्म गरूँ म लोकहितमा हुन् कल्पना सुन्दर 
यौटा सभ्य समाज सिर्जित भई आस्था फुलून् मङ्गल 
केही गर्नु छ लोकनिम्ति ‘म’ भए संसार यो बाँच्दछ 
मेरो कर्म फुली फली जगतमा उत्प्रेरणा हाँस्दछ

जस्तै आपत होस् त संयम लिई जो कर्ममा लाग्दछ 
उस्को जीत अवश्य हुन्छ जगमा सद्कार्यले बाँच्दछ 
मेरो साहस विश्व हाँक्दछ भनूँ के गर्नु सारा कुरा 
थाले चढ्न पहाड पुग्छ चुचुरा हुन् लङ्गडा वा भुरा

आँटै हो सबथोक आँट म गरूँ इच्छा मनैमा लिए 
एक्लै बन्न सकिन्छ युद्धविजयी सद्कर्ममा देखिए 
आँटी वीरनिमित्त के समर यी हार्दैन कस्तै गरे 
छोपी बादलले हुनेछ कति के छन् शक्तिमा सूर्य रे !

झुट्टा मोह र द्वन्द्व क्रोध वशमा फस्दै नफस्नू कतै 
मैले पर्दछ गर्न कर्म नउलो होस् भावनामा सधैँ 
अन्धो लोक छ दृष्टि भैकन यहाँ नामर्द चैतन्यले 
जस्मा चेत भरूँ कलात्म विधिले उत्साह सौजन्यले

हामी स्वार्थविहीन बन्न नसकी भुल्छौँ अँध्यारोतिर 
कालो निष्पट देशमा भुलिरह्यौँ पुग्छौँ कहाँ आखिर 
हाम्रो बौद्धिक कागझैँ चतुरता के काम टर्रोपन
बोली मिष्ट भएन कर्म गतिको उद्योग धन्दाकन

हाम्रा बौद्धिक वर्ग अन्धपथमा छोपेर आँखा अझ 
कुद्दैछन् कुहिरो बनेर थप त्यैँ भेटून् उज्यालो कब ? 
ज्यादा लाग्दछ पक्षपात छ यहाँ अन्धो हुँदा शासन 
अन्धै लाग्छ प्रशाक शासकहरू छन् व्यर्थका हैकम

अन्धा शासक यी निरंकुश भए स्वातन्त्रता के भयो ? 
आफैँ खाउँ र लाउँ क्रूर मनका बाँकी कुरा के रह्यो ? 
मन्त्री सांसद बन्नु मात्र सब भो यो देश निम्जो भयो 
गर्छौ चिन्तन के ? अबोध दुनियाँ झन्झन् गरीबी भयो

हाम्रो चिन्तन नै गरीब छ भने उद्योग के पो हुने 
होला देश विकास आज कसरी स्वार्थी विचारै भए 
छाती एक फराकिलो अब रहोस् यो देशको निम्तिमा 
साझा भाव लिएर कर्मठ बनौँ सद्भाव सद्प्रेममा

नेपाली मन यो छ कोमल सधैँ माया दया सागर 
हामी हौँ सब मानवीय मनका छौँ कर्मका जाँगर 
छाती चुम्दछ श्वेत–श्वेत चुचुरा यो विश्वको माझमा 
हामी उच्च रह्यौँ हिमाल शिरले नेपालको देशमा

आहा ! प्राकृत दृश्य यी शिखरमा चढ्दै गयौँ शानले 
हाम्रै भो शिर उच्च विश्वभरिमा हिँड्दै रह्यौँ गर्वले 
सेता कञ्चन यी हिमाल चुचुरा झाडी घना जङ्गल 
यी छाङ्गा छहरा विशाल पहरा होऊन् सबै मङ्गल

पुर्खा वीर थिए सचेत मनका साझा थिए भावना
साझा इज्जत गर्न कायम तिनी लड्दै थिए भूमिमा 
सीमावद्ध छ भूमि यो हिमचुली भाषा तथा भावना 
साझा देश छ जात धर्म र कला यो देश नेपालमा

चल्दो संस्कृति पुज्य हुन्छ मनमा विद्रोह गर्ने किन ? 
नाफा होस् जसबाट लोक मतमा होस् उच्च मूल्याङ्कन 
हामी शासित छौँ र शासक बनी चल्दैन ए संस्कृति 
साझा संस्कृति उच्च हुन्छ जगमा होस् सभ्यता आकृति

यौटा काव्य गरूँ समर्पण भनी पोखेर कालो मसी 
आस्था टाँस्दछु श्वेतपत्र तहमा च्यापू घुँडामा धसी 
आऊन् शब्द सुधा पिई छरछरी मीठा बनून् वाक्य यी
मीठा शेर बनून् अहो ! गजलका श्रृङ्गारका काव्य ती

आऊन् शब्द हरर्र वेग गतिले जन्ती बनी अक्षर 
मीठा वाक्य बनून् र भाव रसिलो काव्यत्व हो निक्खर 
जे खोजे पनि पाइयोस् मृदु कथा व्याख्या र विश्लेषण
यो यौटा इतिहास हो जगतको सापेक्ष हुन् वर्णन

राम्रो कर्म गरे जितिन्छ जग यो स्यावास क्या ! मिल्दछ 
स्रष्टा सज्जन राष्ट्रभक्ति कति के ऊ विश्वमै पुग्दछ 
सिङ्गो मानव भावनासित भुली स्रष्टा महान् बन्दछ 
झर्दो निर्झरझैँ समान रुपले सम्पूर्णमा भिज्दछ

स्रष्टाको मत साम्य हुन्छ सबको साझा छ स्रष्टाजन 
स्रष्टा सुन्दर राष्ट्रको छ गहना हुन्छन् तिनी सज्जन 
राष्ट्रैको हितनिम्ति बोल्छ प्रतिभा राम्रा कुरा गर्दछ 
साझा भाव हुने हुँदा त प्रतिभा साझै बनी मर्दछ

स्रष्टा सागर हुन् अथाह गहिरा चौडा तथा फाँचिला 
स्रष्टा व्योम विशाल काय जसको तारा तथा चन्द्रमा 
ढाक्छन् सूर्य बनी हरेक जगमा छैनन् कुनै भेद ए 
स्रष्टा बादल हुन् र व्योम पथका पानी बनी वर्षिने

स्रष्टा भेदविहीन हुन्छ मनको संसार ऊ एक छ 
स्रष्टा वर्गविहीन हुन्छ जगको जो भावना साम्य छ 
स्रष्टाको मन साम्य हो गजबको हुन्नन् कुनै दम्भ रे !
डाहा हुन्न र द्वन्द्व छैन उसमा देखिन्छ आश्चर्य ए !

कोही शत्रु हुँदैन चन्द्र, रविले ढाक्छन् समानै गरी 
त्यस्तै ढाक्दछ योग्य योग्य प्रतिभा निभ्दैन कस्तै गरी 
हुन्छन् दृष्टि समान योग्य प्रतिभा साझा सबैको धन 
स्रष्टा साधन हुन् हरेक मनको संसारका उत्तम

बाँच्ने कर्म समाजको हित हुने जो कालमा पच्दछ
जस्को सुन्दर होस् भविष्य, गतिमा बन्नेछ आफैँ चल 
स्रष्टाका सृजना रहन्छ पर त्यो जो कालमा सिर्जियो
पैलो हो विजयी स्वकाल मतमा निन्दा र द्रोही भयो

कोही हिँड्दछ मार्गमा प्रगतिको काट्छन् कुरा दुष्टले 
दिन्नन् उन्नति गर्न त्रूmर मनले हान्छन् छुरा वाणले
जस्तै होस् कठिानाइ पार म गरूँ उद्देश्यले हिँड्छ जो 
त्यल्ले उन्नति गर्छ नाम उसको फैलन्छ फैलन्छ हो

सीमावद्ध बनेर मानिस हिँडे पुग्दैन टाढा कतै 
विश्वै ठान्दछ भ्यागुतो कुपतिरै चौडा सिमाना सधैँ 
सीमामा कति जन्मदैन प्रतिभा यो साम्य संसार छ 
पृथ्वीबीच स्वतन्त्र छौँ सब यहाँ सोच्ने उँचा बन्दछ

किल्ला साँध अनेक छन् हृदयमा कल्ले बनायो यसो 
तेरो पारि छ व्यर्थ चिन्तन बन्यो मेरो यताको छ यो 
मान्छे मानिसमाथि शासन अहो ! आश्चर्यमा अद्भुत 
व्यर्थै चिन्तन छन् र दर्शन यिनी क्या ! देखियो प्रस्तुत

हाहाकार छ द्वन्द्व क्रोध सबमा तेरो र मेरो भनी 
सीमा बाँध अनेक छन् जमिनमा टुक्रा अनेकौँ गनी 
अर्को देश तथा स्वदेश यसरी छन् द्वन्द्वका कारण 
हामी छौँ तब पो असभ्य मतका कल्याण के हो भन !

सीमाहीन छ सृष्टिका सब कुरा स्वातन्त्र छन् जन्मले 
व्यर्थै हैकमवाद हुन्छ पछि जो यी घीनका कर्मले 
बुझ्दैनौ किन सृष्टिमा विलिन छौँ यो स्थूल संसारमा 
सूक्ष्मैसूक्ष्म हरेक वस्तु सृजना देखिन्छ स्वातन्त्रमा

लेख्ने लेखक हूँ म रच्छु रचना मेरो अहं्कार छ 
सीमामै मन बाँधियो कि यसरी आफैँ चमत्कार छ 
मैले अद्भुत कर्म गर्नु छ यहाँ यो आँट हो वीरको 
सीमा हुन्न स्वतन्त्र हुन्छ यसमा जो भावना तीर हो

हानूँ तीर प्रहार चोट गहिरो उत्तेजना आँटिलो 
सङ्ग्रामी तब हूँ म जित्छु रण यी यो भावना जोशिलो 
मैले काव्य प्रयोगमा कति दिने सक्ने दिएँ जो दिएँ 
एक्लै जन्म लिएँ र एक्लिन पुगेँ एक्लो विजेता भएँ

एक्लो सूर्य छ ढाक्छ विश्व उसले केमा कमी ठानूँ म 
एक्लै ढाक्दछु आँट हो सब कुरा सङ्घर्ष नै हो गुण 
आँटे हुन्न र के छ साहस ममा बोकेर धर्ती हिँडूँ 
तारा, सूर्य टिपेर ती गगनमा आनन्दले मै उडूँ

कैयौँ हार सहेँ र जीत कतिको यो क्रान्तिकारी मन 
सङ्घर्षी छ हरेक सिर्जन हुँदा नैराश्य बन्ने किन ? 
धर्तीको गति नित्य नित्य छ भने यो चाल हो जीवन 
रोक्नै हुन्न छ चाल जो समयको साक्षात् कला–सिर्जना

प्राणीबीच छ द्वन्द्व भिन्न मतमा प्राचीन संस्कार छ 
यौटामाथि छ क्रूर शासन यहाँ अर्को बलत्कार छ 
कोही शासक उच्च छन् तर कतै निम्जो तिरस्कार छ 
प्राणी–भेद विभेदमा किन गए ? खोटो पुरस्कार छ

मान्छे वर्ग विभाज्य छन् मत दुई के को गरीबी धनी ? 
के को शासक वर्ग शासित छ को के को गुणी वैगुनी ? 
व्यर्थै वर्ग दुई विभाजन गरी तेरो र मेरो गरे 
जस्को कारण भो विचार ननिका दुब्ला नसक्ने मरे

कैयौँ शासक फेरिए मत उही के भिन्नता पाइयो
राजा, रैति प्रजाहरू र जनता नेता उही भेटियो 
राजा या गणतन्त्र के समर यो छन् अर्थका बीचमा 
मारिन्छन् प्रतिभा हरेक दलका यी प्रश्न के कारण ?

हुन्छन् साधक भिन्न दृष्टि मतका जो भिन्न संसार छ 
देख्ने सुन्दर पूर्ण सृष्टि सृजना मीठो पुरस्कार छ 
क्रोधी शासक भन्दछन् फरक हो संसारको सृष्टि यो 
हाम्रै हैकम लागु हुन्छ यसमा नेता विजेता छ को ?

मै ठूलो हुँ अहम् हरेकसित छन् सानो र ठूलो छ को ? 
थोरै भिन्न विचारमा छ कि कसो जो भिन्नता देखियो 
कैयौँ चिन्तक देखिए जगतमा ल्याएँ नयाँ सिर्जना 
मानूँ भेद यही छ नित्य जगमा यी सत्यता सृष्टिमा

देखेँ सृष्टि जगत् र रुष्ट दुनियाँ आपस्तमा लड्दछन् 
यस्को कारण के छ क्रोध सबमा द्वन्द्वात्ममा चल्दछन् 
देखिन्छन् तब वर्गभेद दुनियाँ जो द्वन्द्व हो कारक 
ईष्र्या डाह र मोह, क्रोध भरिंदा जानून् र के साधक

स्रष्टा साधक जन्मिए नगिचमा झार्ने कसोरी तल
ईष्र्यामै दिन बित्दछन् पट हुँदा देखोस् कहाँ सुन्दर 
खुट्टो तान्दछ मूर्खले प्रगतिको डाहा र ईष्र्या गरी 
आपूm कर्मविहीन भैकन यहाँ त्यो हिँड्छ डाहा भरी

कोही हिँड्दछ मार्गमा प्रगतिको उद्योग नौला गरी 
लाग्छन् बाँध अनेक कर्मपथमा आक्षेप नानाथरी 
गर्छन् द्रोह समाजमा विविधता ईष्र्या र डाहा हुँदा 
दिन्नन् उक्लन वेगवान प्रतिभा जोडी अनेकौँ फुँदा

स्रष्टा साधक मारिए जगतमा फुस्रा उठे मास्तिर 
पानी फोहर ठानियो हिमनदी राम्रो समुद्री तर 
झर्ने निर्झर लेकका वनबुटा देख्दै नदेख्ने नर 
विद्यावारिधि गर्छ त्यै विषयमा देखिन्छ हास्यास्पद

ज्यादा चल्मल हुन्छ गैह्रकविको उस्कै छ रे ! ढल्मल 
स्रष्टा उच्च र योग्यता पनि हुने छैनन् विजेता तर 
तेरो शासन यो निरंकुश सधैँ टिक्दैन टिक्दैन ए !
ढल्छन् क्रूर नवावका दबदबा जो सत्य मर्दैन ए !

देखिन्छन् चल माफिया मतहरू छन् छद्मभेषी कति 
चुस्छन् ती जति सक्दछन् उडुसझैँ चल्दोछ तिन्कै गति 
खाने धेर ठगेर कर्महिनको फैलाउँछन् नाम ती 
त्यस्ता तत्व समाजमा रहिरहे होला कहाँ उन्नति ?

ज्यादा भेद छ गाउँ औ शहरमा बोल्ने नबोल्नेकन 
जो सम्पन्न छ स्रोतसाधन भने ऊ माफिया भैकन 
आफ्नै स्वार्थनिमित्त बोल्दछ सधैँ जो केन्द्रको धाक छ 
पेलिन्छन् जति गाउँका गरिब यी बेकार सन्त्रास छ

कन्सुत्ला पनि साँप छन् शहरका हात्ती बने स्याल ती 
गर्जन्छन्– म त बाघ हूँ शहरको झुस्रा बिराला पनि 
जस्तै वीर अजिङ्गरै किन नहोस् कीरा बने गाउँका 
तेरा भेद छ आज ‘मोफसल’ रे सीमाङ्क छन् ठाउँका

यी साहित्यिक माफिया शहरका काला छुचुन्द्राहरू 
खोज्छन् खन्न पहाड उच्चचुचुरा छन् पूmर्ति ज्यादा अरू 
के भत्काउन सक्छ उच्चचुचुरा उफ्री छुचुन्द्रो त्यहाँ 
खन्दा एक ठुलो कहाँ छ विजयी साँचो भनून् माफिया

जो सम्पन्न छ स्रोतसाधन पुगी ती राजधानी बसी 
थिच्छन् लेबल लाउँछन् गजबले चिल्ला छुराले धसी 
विद्वान्–मूर्ख तिमी त छौ शहरमा केन्दीय सत्तासित 
मेरानिम्ति तिमी त जीव भुसुना हौ व्यर्थ सम्मानित

ठूलो मानिस कर्मले छ जगमा डाहा गरी बढ्छ को ? 
व्यर्थै डाह गरेर हुन्न गतिलो मानिन्न सम्मान त्यो 
ढोंगी छौ सब मूर्ख छौ शहरिया विद्वान भन्नेहरू 
पापी छौ अनि अन्धकार पथमा हिँड्ने तिमी के भनूँ ?

देख्दैनौ त्यसतर्फ दीप छ नयाँ झल्झल् उज्यालो छ रे !
आँखा बन्द छ अन्धकार सबमा के देख्दछौ दीप ए !
छैनन् चिन्तन उच्च कर्म छ कहाँ व्यर्थै तिमी शासक 
आँखा हेर समान दृष्टि मनको हुन्छौ कला दीपक

राम्रो चिन्तन कर्म बन्दछ महान् छन् कर्ममै दर्शन 
बाँच्छन् कर्म भविष्यसम्म मनमा स्यावास पुस्तौँकन 
ईष्र्या मात्र गरेर हुन्न मनले आफैँ गरौँ कर्म ए !
अर्काको हितमा छ कर्म त भने बाँचीरहन्छन् भरे

कर्मै जीवनको छ दर्शन कला संसार जो रच्दछ 
कर्मैहीन भए निरर्थक भई निर्जीवझैँ बन्दछ 
कर्मैभित्र छ सृष्टि जो छ जगमा लोकोपकारी छ त्यो 
व्यर्थै कर्मविना छ मानिस यहाँ निर्जीव निर्जीव हो

हामी कर्मविहीन छौँ यदि भने डाहा र ईष्र्या किन ? 
राम्रा कर्म भए पुजिन्छ जगमा पर्दैन ईष्र्या लिन 
आपूmले नगरेर कर्म अरूको के हुन्छ डाहा गरी 
तारा चन्द्र समात्छु भन्दछ भने भेटिन्न त्यो क्यै गरी

सक्ने काम गरूँ पवित्र मनले संसार यो जित्नु छ 
निन्दा मात्र गरेर हुन्न कविले पैले स्वयम् चिन्नु छ 
निन्दा धेर गरेँ म माफ लिउँ के आक्षेप जो लाग्दछ 
मेटूँ भन्दछु मेटिंदैन यसरी यी क्रोध क्या ! हाँस्दछ

भारी इज्जत छन् यिनै प्रकृतिमा दृष्टान्त छन् सुन्दर 
पूजा गर्दछु दृश्य प्राकृत कला यस्मै रहोस् मङ्गल 
पानी, वायु र तेज शक्तिसितको मेरो छ यो प्रार्थना 
मान्छे एक बनूँ कलङ्कहिनको मैले गरूँ साधना

आहा ! प्राकृत दृश्य सुन्दर कला निष्पक्ष छन् भावना 
साझा देश हराभरा प्रकृतिमा के लोभ के चाहना 
बोल्छन् भित्र सजीव छन् सब त्यहाँ भाषा छ आफ्नैपन 
त्यस्तो जीवन पो छ जीवन अहो ! देखिन्छ क्या ! रम्झम

गासूँ मित्र हिमाल चुम्वन गरोस् यी ओष्ठ छन् लालिमा 
झाडी लेक अनेक रूख बिरुवा टेकूँ कला डालिमा 
झर्ने निर्झर नित्य नित्य छहरा मीठो सुसेलीसित 
मेरै गीत बनोस् सुर्कीिर्त कविको होस् कर्म सम्मानित

डाँडा–पर्वत जिन्दगीसित मिलून् त्यागून् अँध्यारा जुनी 
कालो निष्पट अन्धकार जगको फालून् कलावैगुनी 
कैयौँ वर्ष यता छ ठिङ्ग चुचुरो शोभा त्यही कायम 
जैलेसम्म रहन्छ धन्य म हुँला आत्मा लिउँ संयम

पुर्खाको इतिहास फेरि म पढूँ यी शैलका ताजमा 
घुम्थे फन्फन पार्वती शिवपरी ती सभ्यता साँझमा 
माली शङ्कर औ गणेश महिमा श्रीकृष्णका के कुरा ? 
प्यारो भारतखण्ड विश्वबिचको हो सभ्यको आँकुरा

छाती शुद्ध थिए महान तपसी विद्वान् र ज्ञानी ऋषि 
ल्याए चिन्तन जीव दर्शन कला आफैँ थिए पारखी 
हिंसा, क्रोध थिएन शान्त वशमा क्या ! जिन्दगी बित्दथ्यो 
स्रष्टा पुज्य थिए महान् ऋषिहरू प्राज्ञत्वले खिच्दथ्यो

त्यस्तो जीवन पो छ जीवन अहो ! खुल्ला थिए भावना 
साझा भाव र कर्म पुजित थिए सद्प्रेमको कामना 
चल्थे मग्मग साम्य यौवनकला बैँसालुका वासना
प्यारो लाग्दछ आज पुर्व कथना मैभित्रको चाहना

थालेँ लेख्न महानकाव्य अहिले धम्की न वा धाकले 
लेख्दै बन्दछु लङ्गडो कि त कसो ? के भन्नु यो मूर्खले 
घिस्य्रो बल्ल टुटेफुटे कलम यो यी काव्यका मार्गमा 
बामे मात्र सरे पुग्यो किन भनूँ खै लक्ष्य पुग्ने उहाँ

पुग्ने लक्ष्य असाध्य दूर भव हो कोही त्यहाँ शासक 
यो ब्रम्हाण्ड चलाउँछन् हरघडी यो विश्वका चालक 
यौटा शासित हूँ अबोध मनको मैले सकेँ के दिन 
अर्काकै भरमा छ बाँच्नु कति यो के सक्नु सत्ता लिन

टाढासम्म छ जानु नित्य गतिले बाटो बिराएँ भने 
ठूलो आपत पर्छ बीच पथमै अज्ञानमै कल्पिएँ 
के को गर्व गरूँ अपूर्ण म भई खै पूर्णता ज्ञानको 
आफैँ खिस्स परुँ पछाडि म परूँ के गर्व के शान यो ?

लेख्दा काव्य अनेक तार्किक बनी निन्दा ग¥यो लोकले 
लेखेँ तैपनि काम के छ यसको आफैँ जलेँ भोकले 
चल्नै सक्दिन कालको गतिसितै आश्चर्य यस्तै भयो 
जस्तै होस् पनि काव्य लेख्दछु भने आश्चर्य पो काव्य भो

निन्दा मात्र गरेँ सतर्क नरही कस्तो छु आपूm भनी 
के मूल्यङ्कन आत्ममूल्य छ कहाँ यी कल्पना के धनी 
खासै कल्पित मात्र बन्छ कवि जो निर्जीव हो पत्थर 
साँच्चै कर्म सजीव हो जगतमा त्यैँ मिल्छ डेरा, घर

चल्छन् चल्मल कर्मजीवन भए छन् क्रान्तिकारी गति 
पृथ्वी चल्दछ नित्य नित्य गतिमा देखिन्छ रे ! उन्नति 
पृथ्वी कल्पित होस् त चूर्ण छिनमा नासिन्छ अस्तित्व नै 
व्यर्थै लाग्दछ कल्पना बिरसिला निर्जीव निर्जीव है !

यौटा मूर्ख म हूँ समाजसितको सम्बन्ध मेरो छ र ? 
लेखी मात्र हुँदै हुँदैन कविजी सिद्धान्त फेर्ने गर 
नौला मार्ग खनेर नव्य चिजको त्यस्मै ढुवानी गरे 
बन्छौ योग्य समाज, लोकमतको इच्छा मिलेको भए

मूर्खैमूर्ख रहे ठूला शहरमा आरोप मैले गरेँ 
आफैँ मूर्ख भएँ चिनूँ म कसरी के कर्मले देखिएँ 
प्रश्नै–प्रश्न थपेर उत्तर दिने सामथ्र्य मेरो छ के ? 
बामे सर्दछु लङ्गडो कवि छ यो जे लेख्छ लेख्दै छ ए !

आफ्नै नाम चलाउँ विश्वभरमा चोरी, लुकी जे गरी 
यस्तै छन् कवि विज्ञ यी शहरका यो राज्य यस्तै छ कि ? 
ज्ञानी शासक राज्यमा यदि भए हुन्छन् सबै विज्ञ रे !
मूर्खैमूर्ख हुँदा त शासकहरू देखिन्न सम्मान ए !

निन्दा मात्र गरी हुँदैन फल क्यै झन् बढ्छ बेइज्जत 
यी प्रवृत्ति भए सुधार म गरूँ इच्छा लिउँ लक्षित 
हामी उठ्न सकूँ चुमेर चुचुरा यो विश्वको माझमा 
नेपाली अब सभ्य छन् सब भनून् होस् उच्च मूल्याङ्कन

सीमा बन्धन छौँ र संकुचित छौँ, तेरो र मेरो पनि 
साझा भाव रहेन लोकमतमा के कर्म होला अनि 
गर्छौं लोभ र द्वन्द्व कर्म नगरी खोजेर मीठो फल 
मोती टिप्न सकिन्छ सागर पुगे के हेर्दछौ ए भल

यौटै शान र एउटै मत थियो सारा फुटालीकन 
झन्झन् भाव विभाजित यहाँ यस्तै छ मूल्याङ्कन 
पार्टी छौँ मतभेद भिन्न सबमा मैमात्र जान्ने भएँ 
मै ठूलो यति गर्व बाँच्दछ सधैँ छायाँ यसैले परेँ

सामन्ती व्यवहार गर्दछु सधैँ मै साम्यवादी भएँ 
अर्काको जति उच्च उन्नति भयो आफैँ लुटेरा भएँ 
संघर्षी तर भेदभाव ननिका मैभित्र उब्जन्छ रे !
मै ठूलो तब हूँ घमण्ड छ ममा यस्तै छ सञ्चार ए !

मोतीराम प्रचार खण्ड सृजना यो धाक हो व्यर्थको 
के को पूmर्ति गरूँ म लेख्छु कविता इच्छा छ बेअर्थको 
मैले पर्दछ आत्मग्लानि लिन यो मीठा बनेनन् कला 
लेखेँ अर्थनवर्थ क्लिष्ट रचना स्यावास भन्लान् कता ?

गर्छन् लोक विरोध काव्य कविले लेखेछ लेख्यो तर 
फोस्रो चिन्तन मात्र छन् विरसिला के मा रह्यो सुन्दर ?
यस्ता छन्द त काम छैन अबता यो काल हो गद्यको 
नाच्नै जान्दिन तालसाथ यसरी बेकार यी काव्य भो

निन्दा गर्दछ राजनीति दलले हाम्रो हुने पक्षमा 
लेखे पो कवि हुन्छ उच्चप्रतिभा सम्मान यो देशमा 
पूँजीवाद र साम्यवाद मतका क्वै एकतन्त्री हुँदा 
यी बाटा कविका भए कठिन रे ! को सुन्छ मैले रुँदा

यो हो संस्कृति–क्रान्ति नव्ययुगको जो छन् पुराना जलून् 
तारा, सूर्य डुबून् सबै बदलिऊन् हावा र धर्ती मरून् 
पुर्खाका इतिहास जर्जर बनून् हामी सबैथोक हौँ 
हाम्रो जन्म भयो स्वतन्त्र पथमा उम्य्रौँ स्वयम् दक्ष छौँ

यस्तै क्रान्ति छ आजका दलहरू आमाविना जन्मिए 
साक्षात् ईश्वर हौ महान् प्रभु तिमी तिम्रै कुरा लेख्दिएँ 
पैलो खण्ड छ प्रार्थना जय तिमी बिर्सें पुराना कथा 
होऊन् मङ्गल पूर्ण जीव भवका चाहन्छु होस् एकता