गैर कानूनी क्रियाकलाप रोक्न निगरानी बढाईने

धुन्चे । रसुवागढी- केरुङ नाकामा हुन सक्ने गैर कानूनी क्रियाकलाप रोक्न नेपाल सरकार र तिब्बत, जिलोङ काउन्टीका पदाधिकारी बीच सहमति भएको छ । सोमबार धुन्चेमा बसेको बैठकले उक्त कार्य नियन्त्रण गर्न नेपाली र चिनीयाँ सुरक्षाकर्मीबाट गस्ती बढाउन सहमति भएको हो । 

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार बैठकमा रसुवावासी लगायत अन्य जिल्लाका बासिन्दालाई समेत जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने पासलाई आधारमानी केरुडसम्म जान वान डे पासको व्यवस्था लागू गर्न अनुरोध गरिएको छ । सो विषयमा चिनीया पक्षबाट माथिल्लाे पदाधिकारीसँग छलफल गरिने चिनीयाँ पक्षले जानकारी गराए । 

त्यस्तै वन व्यवस्थापन, डढेलो नियन्त्रण, वन पैदावर चोरी निकासी नियन्त्रण सम्बन्धमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत् व्यक्त गरिएको थियाे ।

बैठकमा नेपाली भूमीमा हुन सक्ने चीन विरोधी गतिविधी र तिब्बती शरणार्थी सम्वन्धमा चीनियाँ पक्षबाट चासो व्यक्त भएकोमा, नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको र नेपाली भूमीमा चीन विरुद्ध कुनै पनि गतिविधि हुन नदिन सूचना संकलनलाई बढी प्रभावकारी बनाई आवश्यक सुरक्षा सर्तकता बढाउने प्रतिबद्धता समेत व्यक्त गरियो ।