रसुवागढी-काठमाण्डौ एक घण्टामै पुग्न सकिने

धुन्चे । चीन सरकारद्वारा प्रस्तावित काठमाण्डौ रसुवागढी रेलमार्ग निर्माण भएपछि रसुवागढी- काठमाण्डौ एक घण्टामा नै जोडिने भएको छ । काठमाण्डौं–रसुवागढी रेलमार्ग निमार्णका लागि चिनियाँ कम्पनीले प्रस्ताव गरेसँगै यो सम्भावना बढेको हो । 

चाइना रेलवे इन्टरनेसनल ग्रुपले गतसाता रेल विभागमा २ खर्ब ८१ अर्ब ६९ करोड ६० लाख ४० हजार रुपैयाँको लगानीमा रेलमार्ग निर्माण गर्ने प्रस्ताव पठाएको विभागले जनाएको छ ।


विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले दिनुभएको जानकारी अनुसार आगामी ४ वर्षभित्र रेलमार्ग बनिसक्नेछ । 

एक लेनको उक्त रेलमार्ग १ सय ५ किलोमिटर हुने र ९२ प्रतिशत हिस्सा सुरुङ र पुलको हुने प्रस्तावमा उल्लेख छ । सो निर्माणका लागि चिनीयाँ सरकारबाट श्तो व्याजदरमा ऋण उपलब्ध हुने भएको छ । 

प्रस्ताव अनुसार रेलको भार क्षमता १ करोड ५० लाख टन हुनेछ । रसुवागढीदेखि काठमाडौंसम्म  विभिन्न स्थानमा गरि  ६ वटा स्टेशन निर्माण हुने विभागले जनाएको छ ।

चिनीयाँ पक्षले चीन–नेपाल अन्तरदेशीय रेलमार्ग बनाउन इच्छा देखाएको बताईएको छ । चीनले तिब्बतको आफ्नो रेल सञ्जाललाई सन् २०२० सम्ममा नेपालको सीमा नजिकै पर्ने केरुङसम्म विस्तार गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रस्ताव अनुसार उक्त रेलमार्गको लागत २ खर्ब ८१ अर्ब रहेको छ ।