पुननिर्माणमा सहयोग पुर्याउने संघसंस्थालाई सम्मान

कालिकास्थान, कालिका गाउँपालिकामा भुकम्पपश्चातको पुननिर्माणमा उल्लेखनीय योगदान पुर्याउने संघसंस्थालाई कालिका गाउँपालिका कार्यालयले सम्मान गरेको छ । सम्मानित हुनेमा संघसंस्थाहरूमा कर्डएड, लुमन्ती र परिवर्तन/पात्र रहेका छन् । 

कालिका गाउँपालिकाका प्रमुख सीता पौडेलले विभिन्न बाधाहरूका बीचबाट लाभग्राहीहरूमा मुस्कान ल्याउन सफल हुने गैरसरकारी संस्थाहरूलाई धन्यवाद दिनुभयो । कालिका गाउँपालिकाको सम्बृद्दिका लागि फेरि रसुवामा कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यद्वय चित्रकुमारी न्यौपाने र अर्जुनप्रसाद पौडेल, कालिका गाउँपालिकाका उपप्रमुख भवानीप्रसाद न्यौपाने, कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष पुष्पराज न्यौपाने, नेपाल पत्रकार महासंघ रसुवाका उपाध्यक्ष प्रेमप्रसाद पौडेललायतले भुकम्पपछि गैससको कार्यबाट समुदायले गैरसरकारी संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको, राज्यको उपस्थिति नपुगेको ठाउँमा गैससको कार्यक्रम पुगेको देख्दा खुसी लागेको बताउनुभयो । बक्ताहरुले कर्डएड/लुमन्ती र परिवर्तन/पात्रले सञ्चालन गरेका कार्यहरू आगामी दिनमा समेत् आवश्यकता रहेकोले पुन: यस्ता कार्यक्रम लिएर आउन अनुरोध गर्नुभयो । 

लुमन्ती संस्थाका रसुवा प्रमुख लुमन्ती जोशी र कोर्डएडका मिलन मुखियाले कोर्डएडले लुमन्ती र परिवर्तन/पात्रसँग मिलेर रसुवाको कालिका र उत्तरगया गाउँपालिकामा समयमा नै पुननिर्माणको कार्य सम्पन्न गरेको बताउनुभयो । कोर्डएड प्रभावित समुदायको उत्थानका लागि कार्य गर्ने संस्था भएकोले रसुवामा २०७२ बैशाख २९ को भुकम्प भन्दा अगाडि नै राहत र  उद्दारमा समेत् आईसकेको  उल्लेख गर्नुभयो । 

दुई हजार ३ सय ४२ लाभग्राही रहेका कालिका गाउँपालिकामा २ सय १६ घरको पुननिर्माणमा उक्त संस्थााहरूले सहयोग पुर्याएका थिए । 

पुननिर्माणसँगै जीविकोपार्जन, खानेपानी तथा सरसफाईको क्षेत्रमा पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।