कर्मचारीका लागि आईपीओ निष्काशन गर्दै साञ्जेन

काठमाडौं । रसुवामा निर्माणाधिन रहेको साञ्जेन जलविद्युत कम्पनीले पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । अनुमति प्रापत गरेका उक्त शेयर परियोजना निमार्णका लागि ऋण दिने कर्मचारी सञ्चय कोष, कोषका कर्मचारी, शेयरधनी संस्थाका कर्मचारीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

चिलिमे हाइड्रोपावरको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीको तीन अर्ब ६५ करोड जारी पुँजी रहेको छ । कम्पनीले माथिल्लो साञ्जेन १४.८ मेघावाट र ४२.५ मेघावाटको तल्लो सान्जेन नामक दुईवटा जलविद्युत गृह  निर्माण गर्दैछ ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि कुल पुँजीको १९.५ प्रतिशत शेयर प्रदान गर्न लागेको हो । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुले करिब ७१ करोडको आईपीओ प्राप्त गर्नेछन् । यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३.५ प्रतिशत छुट्याइएको छ । ती कर्मचारीहरुले करिब १३ करोडको आईपीओ प्राप्त गर्न सक्नेछन् भने ऋणदाता संस्थाका कर्मचारीले बाँकी शेयर प्राप्त गर्न सक्नेछन् ।

कुल पुँजीको २४ प्रतिशतमा हुन आउने सो आईपीओ निष्काशनपछि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई कुल पुँजीको १० प्रतिशत अर्थात् ३६ करोड बढीको तथा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात् ५४ करोड बढीको शेयर आईपीओका रुपमा प्रदान गर्नेछ ।