आगलागी पीडितलाई सहयोग

कालिकास्थान, विद्युत लाईन सर्ट भएर घरमा आगलागी भएका तीन परिवारलाई कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी रसुवाले सहयोग उपलब्ध गराएको छ । कालिका गाउँपालिका वडा नं २ काप्रेस्थित तीन घरमा हिजो करेन्ट सर्ट भएर आगलागी भएको थियो ।

काप्रे गाउँका हिरामाया बुलुन, मानबहादुर वाईवा र चन्द्रबहादुर वाईवाको घरमा लागेको आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ भने घरमा राखिएको अन्नपात, लत्ताकपडा र अन्य सामग्री नष्ट भएको प्रहरीले बताएको छ ।

तत्कालीन राहतका लागि भन्दै कालिका गाउँपालिकाको आकस्मिक बैठकले निजहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाका उपप्रमुख भवानी न्यौपाने, कार्यकारी अधिकृत मोहन श्रेष्ठ, लेखा अधिकृत किरण खनाल, वडा नं २ का वडाध्यक्ष बिक्रम लामा, वडा नं ३ का वडाध्यक्ष पुष्पराज न्यौपाने, वडा नं ५ का वडाध्यक्ष रामहरि देवकोटा र जिल्ला समन्वय समिति सदस्य चित्रकुमारि न्यौपाने लगायतको टोलीले उनीहरूलाई स्थलगत आर्थिक सहायता उपलब्ध गराएका हुन् । कार्यकारी अधिकृत श्रेष्ठका अनुसार हिरामाया बुलुन र मानबहादुर वाईवालाई २०/२० हजार तथा चन्द्रबहादुर वाईवालाई १५ हजार राहत रकम उलब्ध गराईएको छ ।

त्यस्तैगरि नेपाल रेडक्रस सोसाईटीका सूर्य तामाङसहितको टोलीले तीनै परिवारलाई राहत सामग्री बितरण गरेका छन् । अत्यावश्यक सामग्री हाइजिन किड १/१ थान, त्रिपाल २/२ थान, आवश्यक भाँडाकुँडा, लत्ताकपडा, विद्यार्थी ड्रेस उपलब्ध गराएका छन् ।

कालिका गाउँपालिका वडा नं २ का स्थानीय बासिन्दाले निज परिवारहरूको राहतका लागि सहयोग संकलन गरिएको स्थानीय राजेन्द्र ढकालले जानकारी दिए ।