पर्यटन प्रवर्दनका लागि 'संयुक्त ल्होसार इभेन्ट' हुने

  • ऐतिहाँसिक पक्षलाई हेर्दा तिब्बतबाट भित्रिएको यो पर्व विभिन्न समुदायले विभिन्न समयमा मनाउने गरेका छन् । नेपालमा मुख्यत लोसार तीन प्रकारको रहेको छ ।
  • संयुक्त लोसार कार्यक्रममा तीनैवटा समुदाय शेर्पा, तामाङ र गुरूङको भेषभूषा, संस्कृति, परम्परा झल्कने खानपान, पेय पदार्थ, नृत्य, संगीतसहितका बेजोड प्रस्तुतीहरू रहने टानले जनाएको छ ।

काठमाण्डौं । फेब्रुवरी ११ अर्थात् माघ २८ मा काठमाण्डौस्थित हायत होटलमा ' संयुक्त (ज्वाईन्ट) ल्होसार इभेन्ट' हुने भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले तामाङ, गुरूङ, ह्योल्मो र शेर्पा जातिको संयुक्त सहभागितामा उक्त इभेन्ट मनाउन लागेको हो । टानकी महिला सदस्य ऋतु ग्याम्दानको संयोजकत्वमा मनाउन लागेको उक्त इभेन्टमा तामाङ, गुरूङ, ह्योल्मो र शेर्पा जातिको संस्कृति प्रदर्शन गरिने बताईएको छ ।

 उक्त इभेन्टको सहसंयोजन रञ्जनराज भण्डारीले गर्दै हुनुहुन्छ भने सदस्यहरूमा बाबुराम गुरुङ,  सुकबहादुर तामाङ, पिके शेर्पा, गोपाल श्रेष्ठ र जीबन ह्योल्मो रहेका छन् ।  

टानको वार्षिक कार्यक्रम र स्थापना कालदेखिको नेपालमा बसोबास गर्दै आइरहेका विभिन्न जातजातिहरूको परम्परा र संस्कृतिलाई समग्र देशको निधिको रूपमा संरक्षण र प्रवर्दन गर्ने उद्देश्य अनुरूप शेर्पा, तामाङ, गुरूङ र ह्योल्मोको संयुक्त कार्यक्रम आयोजना गर्ने निधो गरेको छ । टानले यस्ता पर्वहरूलाई संस्कृति र पर्वको संरक्षण गर्दै एउटा छुट्टै आकर्षक पर्यटकीय उपजको रूपमा प्रवर्दन गर्न यस्ता खालका कार्यक्रमको आयोजनालाई निरन्तरता दिँदै आएको छ ।

संयुक्त लोसार कार्यक्रममा  शेर्पा, तामाङ र गुरूङ र ह्योल्मोको भेषभूषा, संस्कृति, परम्परा झल्कने खानपान, पेय पदार्थ, नृत्य, संगीतसहितका बेजोड प्रस्तुतीहरू रहने टानले जनाएको छ ।

लोसार बिशेष गरी बुद्द धर्ममार्गी शेर्पा, गुरूङ र तामाङ, ह्योल्मो जातिले मनाउने पर्व हो ।  मङगोलमूलका जातिहरूले धुमधामका साथ मनाउने यो पर्वले नेपालमा संस्कृति र पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याएको पाईन्छ ।

ऐतिहाँसिक पक्षलाई हेर्दा तिब्बतबाट भित्रिएको यो पर्व विभिन्न समुदायले विभिन्न समयमा मनाउने गरेका छन् ।

नेपालमा मुख्यत लोसार तीन प्रकारको रहेको छ ।

  • तमु (गुरूङ जातिको) लोसार
  • सोनाम (तामाङ जातिको) लोसार
  • ग्याल्बो (शेर्पा जातिको) लोसार