भुकम्प पीडितलाई संयुक्त पुर्जा

बोगटीटार, उत्तरगया गाउँपालिका १ का भुकम्प प्रभावित परिवारलाई संयुक्त पुर्जा वितरण गरिएको छ । 


उत्तरगया ५ बोगटीटारमा बस्दै आएका साबिक हाकु गाविस वडा नं ८ र ९ असुरक्षित वस्तीका ४८ घरपरिवारलाई सुरक्षित स्थानको लालपुर्जा वितरण गरिएको हो ।

जिल्ला भुमि अधिकार मञ्च रसुवा र आत्मनिर्भर सेवा केन्द्र काठमाण्डौको सहजीकरणमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवा र उत्तरगया गाउँपालिकाको सहयोगमा लालपुर्जा वितरण कार्य सम्पन्न भएको हो । 

नेपाल सरकारले सुरक्षित स्थानमा जमिन नहुने प्रभावितलाई जग्गा खरीद गर्नलाई २ लाख उपलब्ध गराएसँगै यहाँका ४८ घरपरिवारलाई अस्थायी रूपमा बसोबास गर्दै आएको स्थानमा नै जमिन उपलब्ध भएको हो । जमिन उपलब्ध गराउनेहरुमा  केशब आचार्य, श्रीकृष्ण श्रेष्ठ, रामप्रसाद लामिछाने, बसन्तकुमार लामिछाने, मधुसुदन लामिछाने, केदारप्रसाद आचार्य र बिनोद आचार्य रहेका छन् । 

भुगर्भबिद्हरूको अध्ययन अनुसार रसुवा जिल्लामा  ७ सय २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रतिवेदन अनुसार पहिलो चरणमा यहाँका ४८ परिवारलाई सुरक्षित स्थानको  लालपुर्जा वितरण गरिएको पुननिर्माण प्राधिकरणका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनु भयो । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय मोहन आचार्यले भूतकालमा भएको घटनालाई मनन गर्दै राज्यको स्रोत र साधनलाई मध्यनजर गर्दै विस्थापितलाई स्थापित गराउन एकीकृत  वस्ती निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । पहिला बसिरहेको ठाउँबाट नजिकैका सुरक्षित स्थानमा  एकीकृत वस्ती बसाल्दै पहिलाको जमिनमा पनि खेतीपाती गरेर जीबिकोपार्जनमा सहयोग पुर्याउनु पर्ने आचार्यले बताउनुभयो ।

सडक सञ्जाल विस्तार नभएसम्म पुननिर्माणले पूर्णता नपाउने बताउँदै उहाँले सामाजिक संरचना निर्माणको लागि सरकारी बजेट कुर्नुपर्ने बाध्यतालाई टार्न व्यक्तिगत लगानीमा स्क्याभेटर खरीद गरि रसुवा ल्याउने तयारी गरिरहेको बताउनु भयो ।  

प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर तामाङले बैशाख १२ को दैवीय लखेटाईबाट हामीलाई अझै मुक्ति नमिलेको बताबताउनुभयो । सरकार परिवर्तन हुने बित्तिकै पुननिर्माणको सिईओ परिवर्तन गर्ने परिपाटीले विस्थापितको समस्या समाधान हुन नसकेको बताउँदै तामाङले चारआना जग्गा प्राप्ति गर्ने बित्तिकै समस्या समाधान मान्न नसकिने बताउनु भयो । 
 
जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले स्थानीय तहका जनप्रतिनिधि र प्रतिनिधि तथा प्रदेश सभाका प्रतिनिधि सबै मिलेर कार्य गरे रसुवाका सबै असुरक्षित वस्तीका परिवारलाई सुरक्षित वस्तीमा स्थानान्तरण गर्न बेर नलाग्ने बताउनु भयो । उहाँले घरेडीले मात्र जनताको समस्या समाधान गर्न नसक्ने बताउँदै विस्थापितको समस्या समाधान गर्न जिल्ला समन्वय समितिले प्रयत्न गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । 


उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले बाँकी रहेका परिवारलाई सुरक्षित स्थानको लालपुर्जा उ्लब्ध गराउन गाउँपालिकाले अगुवाई गर्ने बताउनुभयो । स्थानीय तहमा निर्वाचित भएसँगै विस्थापितको समस्या, भुकम्प पीडितको गुनासो सम्बोधन र पुननिर्माणको सहजीकरणमा लागेको भन्दै विस्थापितलाई खुसी बनाएर स्थापित गराउन पूर्वाधारसहितको एकीकृत वस्ती निर्माण गर्ने कार्यमा आफूले निरन्तर सहयोग गर्ने बताउनु भयो । रसुवा जिल्ला भुमि अधिकारको हिशाबले अझै बिर्ताको समस्या रहेकोमा चिन्ता व्यक्त गर्दै लम्सालले बिर्तामुक्त जिल्ला बनाउन उत्तरगयाबाट सुरु गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । 

उत्तरगया गाउँपालिक का उपप्रमुख चमेली गुरुङ, भुमिअधिकार मञ्चका संस्थापक तथा कालिका गाउँपालिकाका उपप्रमुख भवानीप्रसाद न्यौपाने, पुननिर्माण प्राधिकरण रसुवाका प्रमुख कृष्णकान्त उपाध्याय, आत्मनिर्भर सेवा केन्द्रका प्रमुख जगत बस्नेत,  जग्गाधनीको तर्फबाट केशब आचार्य, भुकम्प प्रभावित वस्तीका अगुवाहरूले मन्तब्य राखेका थिए । 

लालपुर्जा वितरण गर्दै आयोजकले भुकम्प प्रभावित घरपरिवारलाई तुरुन्त सुरक्षित आवास निर्माण गर्न आग्रह गरेका छन् ।