आत्मनिर्भर केन्द्र २५ औं वर्षमा

कालिकास्थान, सुकुम्बासी, भूमिहीन, गरीब तथा बिर्तापीडितको सवालमा क्रियाशील संस्था आत्मनिर्भर सेवा केन्द्रले २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । २०४९ मा सिन्धुपाल्चोकमा स्थापना भएको केन्द्रले २५ औं स्थापना दिवस भूमिघर, कालिकास्थानमा मनाएको हो ।

हालसम्म विभिन्न सवालमा गरिएका क्रियाकलापको समीक्षासहित सम्पन्न कार्यक्रममा बृक्षारोपण समेत् गरिएको थियो ।

विरुवा रोपण कार्य कालिका गाउँपालिकाका उपाप्रमुख एवम् भूमि अधिकार मञ्च, रसुवाका संस्थापक अध्यक्ष भवानीप्रसाद न्यौपाने, कालिका गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र नौकुण्ड गाउँपालिकाकी उपप्रमुख सिर्जना लामाले गर्नुभएको थियो । यस्तै कार्यक्रममा सहभागी अतिथिहरू र सहभागीहरूले २५ वटा (आत्मनिर्भर केन्द्र २५ वर्ष पुगेको उपलक्ष्यमा २५ वटा बालिएको) माटोको पालामा बत्ति बाली मनाइएको हो ।

स्थापना दिवसको अवसरमा उपस्थित गाउँ भूमि अधिकार मञ्चका सदस्यहरूले ‘आत्मनिर्भर केन्द्रको नाम दिलमै लेखिन्छ, गरीब, दलित, महिला अनि सबै किसान एक भए अधिकार सबले पाको पक्कै देखिन्छ’ भन्ने गीत प्रस्तुत गरेका थिए ।