तेस्रो लाङटाङ म्याराथुन हुने

काठमाण्डौं ।  ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) ले तेस्रो पर्यटकीय गन्तब्य लाङटाङ क्षेत्रको पर्यटन प्रवर्दनका लागि तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन आयोजना गर्ने भएको छ । ‘प्रोमोटिङ एड्भान्चर स्पोर्टस् फर सस्टेनेबल टुरिजम्’ भन्ने मूल नाराका साथ अप्रिल २५ मा क्याञ्जेनगोम्बाबाट स्याफ्रुबेंसीसम्म ४२ किमी म्याराथुन हुने टानकी सदस्य तथा म्याराथुन आयोजन समितिकी संयोजक ऋतु ग्याम्दानले बताउनु भयो ।

ग्याम्दानका अनुसार अप्रिल २२ मा स्याफ्रुबेसीबाट शेर्पागाउँ, २३ मा थाङ्स्याप र २४ मा क्याञ्जेनगोम्बा पदयात्राको कार्यक्रम रहेको छ । अप्रिल २५ मा स्याफ्रुबेसीमा औपचारिक कार्यक्रम गरेर म्याराथुनको समापन हुनेछ ।

म्याराथुनमा सहभागिताका लागि आवेदन खुल्ला गरिएको छ । म्याराथुनमा सहभागी हुन चाहने धावकले अप्रिल १५ सम्ममा  नाम दर्ता गर्न सक्नेछन् । म्याराथनका पहिलोविजेतालाई नगद ५० हजार रूपैयाँ पुरस्कार दिइने छ । दोस्रो र तेस्रो हुनेले भने क्रमशः ३० र २० हजार रूपैयाँ हात पार्नेछन् ।

टानले पहिलो वर्ष गोसाईकुण्डबाट धुञ्चेसम्म हाफ म्याराथुनको आयोजना गरेको थियो । सो म्याराथुनमा त्रिभुवन आर्मी क्लबका भरत खत्रीले प्रथम, होमलाल श्रेष्ठले दोस्रो र जुम्लाका गोबिन्दबहादुर अधिकारीले तेस्रो स्थान हासिल गरेका थिए ।

दोस्रो बर्ष लाङटाङमा आयोजना गरिएको म्याराथुनमा नेपाली सेनाका होमलाल श्रेष्ठ पहिलो, राजन क्षेत्री दोस्रो र बेदबहादुर सुनुवार तेस्रो भई पुरस्कार हात पारेका थिए ।

पहिलो म्याराथुनमा १०३ र दोस्रो म्याराथुनमा १०२ जना नेपाली तथा बिदेशी धावक सहभागी थिए भने यो वर्ष धावकको संख्यामना बृद्दि हुने आयोजकले बताएको छ ।