रसुवा प्राज्ञिक समाज गठन

बैचारिक माध्यमबाट समाज परिवर्तन गर्दै शैक्षिक उन्नयन र ज्ञानार्जनमा व्यापकीकरण गर्नका लागि रसुवामा प्राज्ञिक समाज गठन भएको छ ।

कालिका ५ का डिल्लीकुमार देवकोटाको अध्यक्षतामा नौ सदस्यीय समाज गठन भएको बताइएको छ । समाज गठन गरी दर्ता प्रकृयामा लगिएको देवकोटाले बताए । उनका अनुसार समाजले आगामी दिनमा रसुवामा एक पालिका एक पुस्तकालयको अवधारणा पनि अगाडि बढाइने छ ।

विश्वविद्यालय तहमा अध्ययनरत र अध्ययन पूरा गरेका स्कलर्सहरूको प्राज्ञिक छलफल, स्वअस्तित्त्व र स्वाभिमानको सवाल, आप्mनो जन्म भूमिप्रतिको कर्तव्य, उच्च शिक्षा प्राप्तिपश्चात् सामाजिक दायित्व, आभ्यासिक चरणमा रहेको संघीय व्यवस्थाप्रतिको जिम्मेवारिता, स्थानीय सरकारलाई दिइनु पर्ने साथ, सामाजिक विकृति, शैक्षिक बेरोजगारी र युवाहरुको विदेश पलायन, खस्कँदो शैक्षिक अवस्था, शैक्षिक व्यक्तित्त्वहरुले खेप्नुपरेको कृत्रिमपना र असहजता, वर्तमान अवस्थामा पढाइप्रति देखिँदै गरेको वितृष्णाआदिका सन्दर्भमा दायित्वबोध गरी सङ्गठित रुपमा नै अघि बढ्ने बताइएको छ ।

समाजको लक्ष्य :

कुनै पनि क्रिया कार्यकारण सम्बन्धमा आधारित हुन्छ । कारणविनाको कार्यलाई निरर्थक मानिन्छ । लामो समयदेखिको अध्ययन, चिन्तन र मनन्ले भर्खरै मूर्तता प्राप्त गर्न लागेको यस संस्थाले लिएको मूल लक्ष्य भनेकै वैचारिक माध्यमबाट समाज परिवर्तन गराउनु हो । यसको अलवा शैक्षिक प्रेरणा व्यक्तिगत वा सामाजिक स्वच्छताप्रतिको सचेतना, अन्याय, अत्याचार र शोषण विरुद्धको शालीन बहस एवम् शान्तिपूर्ण विमतिलाई यसले आप्mनो मार्गदर्शन ठानेको छ ।

बुँदागत रुपमा यसका केही अभिप्रायहरुलाई यसप्रकार देखाउन खोजिएको छ :

क) जिल्लाको समग्र विकासका लागि वैचारिक सल्लाह, सुझाव, परमार्श र सहकार्यमा जुट्नु,

ख) समाज रुपान्तरणका लागि कानुनको मातहत भित्र रही स्थानीय सरकारसँग सहजीकरण गर्नु,  उपयुक्त किसिमको नीति तय गरी नीति निर्माण तथा कार्यान्वयनका सन्दर्भमा आप्mनो दक्षता र क्षमताले भ्याएसम्मको निसर्त सेवा गरी सहयोग पुर्याउनु,

ग) सामाजिक जागरणका निम्ति चेतनामूलक अभियान सञ्चालन गर्नु,

घ) सरोकारवालाहरु बिचमा समन्वय गरी लक्षित समुदायलाई सक्रिय तुल्याउँदै आर्थिक तथा शैक्षिक प्रबर्धन गर्नु,

ङ) जिल्ला भित्रका शैक्षिक निकाय तथा सरोकारवालाहरुसँग समन्वय कायम गरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सहयोग पुर्याउनु,

च) हरेक तहमा अध्ययनरत विद्यार्थीलाई उच्चशिक्षा हासिल गर्न प्रेरित गर्नु र उत्पादित जनशक्तिलाई उचित व्यवस्थापनका निम्ति पहल कदमी गर्नु,

छ) एक पालिका एक पुस्तकालय स्थापना गरी स्वाध्यायन परम्पराको विकास गर्नु, यो क्रम क्रमशः विस्तार गरी एक गाउँ एक पुस्तकालयको समेत अवधारणा ल्याउनु,

ज) जिल्ला भित्रका उत्कृष्ट प्रतिभाहरुको पहिचान गरी सम्मानस्वरुप उनीहरुलाई कदर गर्ने परिपाटीको विकास गर्नु,

झ) विद्यालय तथा महाविद्यालयहरुमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई केही विशिष्टताको आधारमा छात्रवृत्तिको व्यवस्था मिलाउनु,

ञ) आवश्यकता अनुसार स्वास्थ्य, कृर्षि, व्यवस्थापन, समाजशास्त्र तथा कानुनी तह आदिमा समेत उचित परमार्श प्रदान गर्नु,

ट) भौतिक लगायतका अन्य विकास निर्माणका सवालमा सम्बन्धित निकायहरुमा गुणबोधी वैचारिक सहयोग उपलब्ध गराउनु,

ठ) विचार, दर्शन, सुशासन, भाषा साहित्य, वातावरण, विज्ञान आदि विविध विषयलाई समेटी सर्वोपयोगी प्रकृतिको अर्धवार्षिक वा वार्षिक रुपमा पुस्तिका समेत प्रकाशित गर्दै जानु,

ड) वर्षचक्रका क्रममा जिल्ला भित्रका प्रमुख चाड वा मेलापर्वमा सम्बन्धित क्षेत्र र स्थानमा पुगी आफूले सकेसम्मको मानव सेवामा जुट्नु अर्थात् स्वयम् सेवकको भूमिका निर्वाह गर्नु । आदि ।