यसरी बन्दै केरुङ-काठमाडौँ रेलमार्ग

केरूङ-काठमाण्डौं रेलमार्ग कूल लागत रु दुई खर्ब ५७ अर्बमा निर्माण हुने देखिएको छ । नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौँसम्मको दूरी ७२.२५ किमी छ । प्रतिकिमी रु तीन खर्ब ५५ करोड लागत रहने विभागले जनाएको छ । राससमा समाचार छापिएको छ ।

प्रधानमन्त्री केपी ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणका विषयमा राष्ट्रपति सिजिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग महत्वपूर्ण छलफल एवं सहमति भएको थियो ।

एक अध्ययन अनुसार नेपाल सरकार आफैंले निर्माण गर्न सक्ने बताइएको छ । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायका अनुसार रेलमार्गमा ९८.५५ प्रतिशत पुल तथा सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । कमजोर भूभाग रहेको भन्दै विभिन्न आशङ्का व्यक्त भइरहेको बेला चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न उपयुक्त र सम्भाव्य देखिएको छ।

नेपाल सरकार आफैंले पनि रेलमार्ग निर्माण गर्न सक्ने अवस्था रहन सक्ने अध्ययनबाट देखिएको छ। नेपाली र चिनियाँ अधिकारीले प्रारम्भिक अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम सुरु हुनेछ।      ---------रासस