आमाछोदिङ्मोमा तीर्थालु बढ्दै 

जनैपूर्णिमाका अवसरमा आमाछोदिङ्मो (पार्वतीकुण्ड) मा मेला भर्ने तीर्थालुको संख्यामा बृद्दि भएको छ । स्थानीय फुर्पुसिङ्गी तामाङले दिएको जानकारी अनुसार यसवर्ष मेला भर्नेको संख्या लगभग ६ हजार पुगेको छ ।

 
जनैपूर्णिमाका अवसरमा रसुवाका दुई स्थानमा मेला लाग्ने गर्दछ । गोसाइँकुण्ड गाउँपालिकास्थित ४ हजार तीन सय मीटर उचाईमा अवस्थित गोसाइँकुन्डमा परम्परागत रूपमा देशका विभिन्न स्थानबाट तीर्थालुले दर्शन गर्ने गरेका छन् । पार्वतीकुण्डमा भने विगतमा स्थानीयले मेला भर्ने गरेकोमा केही वर्षदेखि यहाँ मेला भर्न अन्य स्थानका मानिसको पनि आवागमन हुन थालेको छ । 


युएनडिपीको टिआरपीएपीले पर्यटन विकासको लागि यहाँ विभिन्न क्रियाकलाप गरेसँगै यहाँ वर्षैभरि आउने पर्यटक तथा तीर्थालुको संख्यामा बृद्दि हुन थालेको हो ।


मेलाका समयमा तीर्थालु र अन्य समयमा पर्यटकको संख्या बृद्दि गर्नका लागि आवश्यक प्रचारप्रसारको आवश्यकता रहेको पनि फुर्पुसिङ्गीले बताए ।


स्थानीय भाषामा आमाको अर्थ र पार्वती र छोदिङ्मोको अर्थ जमेको ताल भन्ने बुझिन्छ । राज्य पुनर्संरचना हुँदा पार्वतीकुण्ड गाउँपालिकको नामाकरण यही ठाउँको नामबाट भएको हो भने जनप्रतिनिधि निर्वाचित भएपछि सो पालिकाको नामाकरण स्थानीय भाषाबाट आमाछोदिङ्मो राखिएको छ ।