कालिका गाउँपालिकाको पार्श्वचित्र बिमोचन

कालिका गाउँपालिका, रसुवाले गाउँपालिकाको वस्तुगत विवरण अर्थात् गाउँ पार्श्वचित्र प्रकाशन गरेको छ । गाउँपालिका क्षेत्रमा उपलब्ध भएका सूचनाहरू, गाउँपालिकाका अवसर, चुनौति र समाधानका उपाय, घरधुरी, जनसंख्या, खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसाय, सामुदायिक वनलगायतका सूचनासहितको पार्श्वचित्र गाउँपालिकाले प्रकाशन गरेको हो ।

गाउँपालिकाको पार्श्वचित्रका लागि आवश्यक पर्ने घरधुरी र जनसंख्याको तथ्याङ्कलाई अनलाईनमा आधारित सूचना व्यवस्थापन सिस्टममार्फत् तालिकीकरण गरिएको परामर्श दाता संस्थाले जनाएको छ । परामर्श दाता संस्थाको रूपमा  डिजिटल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी प्रालिले र तेजिलो सचेतना समाज नेपाल रहेको बताइएको छ ।

पार्श्वचित्र मार्फत् गाउँपालिका प्रमुख सीता पौडेल, अधिकारीले पार्श्वचित्रको जगमा टेकेर पाँच वर्षे आवधिक योजना निर्माण भइरहेको बताउँदै 'आर्थिक, भौतिक, शैक्षिक, स्वास्थ्य, सरसफाई, सामाजिक विभिन्न क्षेत्रमा दिगो विकास मार्फत् गाउँपालिकालाई सम्मृद्द बनाउने लक्ष्य लिएको बताइन् ।

पार्श्वचित्र तयार समितिका संयोजक समेत् रहेका उपप्रमुख भवानीप्रसाद न्यौपानेले गाउँपालिकाको क्षमता विकास गर्न गाउँपालिकाको यथार्थताको अभिलेखीकरण प्रमुख कुरा रहेको बताए । पार्श्वचित्र निर्माण अन्तर्गत प्रत्येक घरपरिवार र सदस्यहरूको अभिलेखीकरणले आगामी दिनमा परिष्कृत पार्श्वचित्र बनाउन सकिने उपप्रमुख न्यौपानेले बताएका छन् ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपानेले हरेक विकासको मार्ग तयार गर्न योजनाको सही छनोट प्रभावकारी कार्यान्वयन, सरोकारवालाहरुको पूर्ण सन्तुष्टिसहितको उपयोग, निरन्तर अनुगमन एवं मूल्याङ्कन र दिगोपनाको लागि सही र वस्तुनिष्ट निर्णय लिन तथ्याङ्कको आवश्यकता पर्ने बताउनु भएको छ । विगतबाट सिकेर वर्तमानको भोगाईका आधारमा भविष्यका लागि योजना तर्जुमा गर्नु वर्तमान पुनर्संरचित स्थानीय तहको पहिलो आवश्यकता भएको बताएकी छिन् ।  

जेठ २७ गते गाउँपालिकाको कार्यालयमा आयोजित एक समारोहमा गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले संयुक्त रूपमा पार्श्वचित्र बिमोचन गरेका हुन् ।

नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्दिष्ट गरेको ढाँचामा तालिकीकरण हुने गरी तयार गरिएको घरपरिवार र जनसंख्या सम्बन्धि व्यवस्थापन सिस्टमले पूर्णता पाईसकेको छ भने स्रोत नक्शाङ्कन, अन्य निकाय, बैंक तथा वित्तीय संस्था, विद्यालयलगायतको अनलाईन प्रोफाइल निर्माण कार्य भने तयारीको अवस्थामा रहेको बताईएको छ । प्रकाशित पार्श्वचित्रमा कतिपय सूचना प्राप्त हुन नसकेको, कतिपय सूचना अपुरा वा अधुरा पनि रहेकोले  यसलाई अद्यावधिक गर्न आवश्यक रहेको संस्थाले जनाएको छ ।

एकपटक हरेक घरपरिवारको सूचना व्यस्थापन भएसकेपछि वडा कार्यालयमा हुने जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना दर्ताका आधारमा सम्बन्धित घरमा थपघट गरेर ताजा सूचना प्राप्त गर्न सकिने उक्त व्यवस्थापन सिस्टममा प्रत्येक घरको हरेक सूचना र त्यस परिवारका प्रत्येकको हरेक सूचना फोटोसहित राख्न सकिने व्यवस्था छ ।