सत्तरी प्रतिशत घरमा खाद्य सुरक्षित

धुन्चे, चैत २३ – जिल्ला कृषि विकास कार्यालयका अनुसार रसुवाका ७० प्रतिशत घरधुरीमा खाद्य सुरक्षित रहेको देखिएको छ । कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण रसुवाका ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित रहेको देखिएको रेडियो रसुवाको समाचारमा भनिएको छ ।

 
कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा मकै २० प्रतिशत, आलु १५ प्रतिशत, धान ८ प्रतिशतले बृद्दि भएको, १२ हजार केजी जडिवुटी उत्पादन, १८ करोड भन्दा बढि रेमिटयान्स भित्रिएको तथा आन्तरिक तथा वाह्य पर्यटक बढेकाले ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित भएका हुन् । 


अघिल्लो वर्ष जिल्लामा १८ सय मेट्रिक टन खाद्य अपुग भएकोमा यस वर्ष उत्पादन बढेसँगै एक हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कार्यालयले जनाएको छ । 
जिल्लामा अझै पनि ३० प्रतिशत खाद्यान्न अन्य जिल्लाबाट ल्याउनुपर्ने वाध्यता रहेको छ । जिल्लामा रहेको जमिन मध्ये ८ प्रतिशत मात्र खेती योग्य जमिन भएकाले खाद्यान्न अन्य जिल्लाबाट ल्याउनु परेको हो । 


जिल्लामा रहेको १ लाख ५ हजार दुई सय हेक्टर जमिन मध्ये खेतीयोग्य जमिन १२ हजार ४५८ हेक्टर मात्र रहेको छ । कार्यालयका अनुसार जिल्लामा १२ सय हेक्टर खेत र ११ हजार १६७ हेक्टर पाखो जमिन रहेको छ । 


२०७२ बैसाख १२ गते गएको भुकम्पका कारण जिल्लाको लाङटाङ, हाकु, राम्चे, र डाँडाँगाँउका केही क्षेत्र खाद्य सुरक्षाका हिसावले जोखिमपुर्ण रहेको वरिष्ठ कृषि विकास अधिकृत रमेस हुमागाँईले बताउनुभयो । 


कृषि उत्पादनका हिसावले एक हजार देखि एक हजार पाँच सय मेट्रिक टन खाद्यान्न अपु‘ग हुने भएपनि पहुँच,  उपयोग र स्थिरताका हिसावले न्यूनतम खाद्य असुरक्षित जिल्ला भएको हुमागाँइले बताउनुभयो ।