केरुङ दक्षिण एसिया जोडिदै

वैशाख ७, काठमाण्डौ ।  चीनले रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विस्तार गरेको छ । नेपाल सरकारको पटक–पटक आग्रहपछि चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यसका लागि पूर्वाधार तयार गरेको हो । कान्तिपुरमा चन्द्रशेखर अधिकारीले समाचार लेख्नुभएको छ ।

 

केरुङ नाका अन्तर्राष्ट्रिय स्तरको भएको अनौपचारिक जानकारी दिँदै चीनले यसलाई दक्षिण एसिया जोड्ने ‘प्रमुख र महत्त्वपूर्ण’ नाका भनेको छ । उसले नेपाल जोड्ने २७ किमि लिंक रोडसमेत पूर्ण ‘दुई लेन’ बनाउन काम गरिरहेको छ । 

 

तिब्बत कमर्स ब्युरोका उपप्रमुख वाङ पिङले स्तरोन्नतिपछिको नाकाबाट नेपालसँगको व्यापारिक सम्बन्ध विस्तारका साथै नेपालले दक्षिण एसियाको पुलका रुपमा काम गर्न सक्ने चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई बताएका छन् । सोमबारको उक्त समाचारमा केरुङ नाका अन्तर्राष्ट्रिय मापदण्डको बनेको तिब्बत प्रशासनको भनाइ प्रकाशित छ । ‘अन्तर्राष्ट्रिय नाकाका रुपमा पालना गर्नुपर्ने सबै सर्त तथा संरचना, अत्याधुनिक उपकरण जडान आदि व्यवस्थापन पूरा भएको छ,’ नाका र बन्दरगाह हेर्ने प्रशासन कार्यालयका निर्देशक ली चाओफिङले भनेका छन्, ‘केरुङबाट तेस्रो मुलुकका मालसामान पनि ल्याउन–लैजान मिल्ने गरी स्तरोन्नति गरिएको हो ।’ उनले यो नाका दक्षिण एसियासँग जोड्ने केन्द्रका रुपमा विकास भए नेपालको हित हुने पनि उल्लेख गरे । चीनले केरुङ व्यवस्थित भएपछि हिल्सा र किमाथांका नाकालाई जोड दिने तयारी गरेको अधिकारीले जनाएका छन् ।

 

 ‘बेल्टन रोड इनिसियटिभ्स’ अन्तर्गत महत्त्व दिइएको केरुङलाई चीनले दक्षिण एसियासँग जोड्ने नाकाका रूपमा हेर्दै आएको छ । ‘केरुङको पूर्वाधार र जनशक्ति अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्ने तहमा स्तरोन्नति गर्नुपर्ने भन्दै चीनले त्यसमा सुधार गरिरहेको थियो,’ ल्हासाका लागि नेपाली महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले कान्तिपुरसँग भने, ‘हाम्रो आग्रह स्विकार्दै पूर्वाधार तयार भइसकेको अनौपचारिक जानकारी आएको छ ।’ 

 

भूकम्पपछि बन्द तातोपानी नाका खुला नगरेको चीनले केरुङलाई नै महत्त्व दिँदै आएको थियो । ‘नेपालतर्फ पनि पूर्वाधार निर्माण गरिए यो नाका अन्तर्राष्ट्रिय स्तरको हुनेछ,’ एक परराष्ट्र अधिकारीले भने, ‘तर, हाम्रोतर्फ निकै नाजुक अवस्था छ ।’ नेपालतर्फ भन्सार बनाउने विषयसमेत ठेकेदार विवादले अदालतमा विचाराधीन छ । सडक स्तरोन्नतिमा ढिलाइ भइरहेको छ । ती अधिकारीले चीनले बनाउने बन्दरगाहको काम अघि बढ्नै लागेको पनि जानकारी दिए । उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक मात्र ओहोरदोहोर गर्न पाउनेमा अब कूटनीतिक समझदारी भए अन्य मुलुकका नागरिक पनि आउजाउ र व्यापार गर्न सक्छन् । 

 

रुसुवागढीबाट २७ किमि चिनियाँ भूभागको लिंक–रोड प्रयोग गरेपछि चीनको मुख्य भाग जोड्ने केरुङको ‘हाइवे’ भेटिन्छ । सिगात्से र ल्हासा हुँदै रेलमा ल्याइएका सामान त्यहाँबाट नेपाल भित्रन्छन् । करिब ७ सय किमि रेलयात्रापछि सामान ल्याइन्छन् । यो बाटो सहज भए कलकत्ता बन्दरगाहमार्फत सामान ल्याउँदाभन्दा सस्तो पर्ने व्यापारीले बताउँदै आएका छन् । रसुवाका भन्सार प्रमुख केदार पनेरुले चीनतर्फ जसरी नै तीव्र गतिमा नभए पनि नेपालतर्फ सुधारका काम भइरहेको दाबी गरे । चीनले बनाउने सुक्खा बन्दरगाहको प्राविधिक कार्य पूरा भइसकेको र छिट्टै निर्माण अघि बढ्ने पनि उनको भनाइ छ । नेपालतर्फ अध्यागमन कार्यालय निर्माणलगायत काम र भन्सार सेवा अनलाइनमार्फत दिने तयारी भइरहेको पनेरुले जानकारी दिए ।