तीन सय ६३ घरलाई दोस्रो किस्ता

बैशाख १४, धुन्चे । भुकम्प पीडितको लाभग्राही सूचिमा परेका  रसुवाका तीन सय ६३ घरलाई दोस्रो किस्ता वापतको रकम वितरण गरिएको छ  । जिल्ला समन्वय समितिमार्फत् पुनर्निर्माणमा सहजीकरण गरिएका १ सय ७६ र विभिन्न गैरसरकारी संस्थाले सहजीकरण गरेका १ सय ८७ घरधुरीलाई दोस्रो किस्ता वापतको रकम १ लाख ५० हजारका दरले लाभग्राहीको खातामा उपलब्ध गराइएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो ।

पहिलो किस्ता रकम पाएर प्राविधिक सल्लाह अनुसार घर बनाएका अरू ५ सय भन्दा बढी घरधुरीलाई दोस्रो किस्ता निकासा गर्न तयारी भइरहेको पनि पाण्डेले बताउनु भयो ।

 जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय ३६ घरधनीमध्ये ९ हजार २ सय ९९ घरधनीसँग अनुदान सम्झौता भएको छ ।