लाङटाङ म्याराथुन सम्पन्न

बैशाख १४, धुन्चे, रसुवा । लाङटाङ क्षेत्रमा आयोजना गरिएको दोस्रो लाङटाङ म्याराथुन सम्पन्न भएको छ । सो म्याराथुनमा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भई एक लाख पुरस्कार जितेका छन् ।  मंगलबार भएको म्याराथनमा ४२ किलोमिटर दूरी तीन घण्टा ३४ मिनेटमा पुरा गर्दै श्रेष्ठ पहिलो भएका हुन् । म्याराथुनमा १० जना विदेशी र ९२ जना नेपालीले सहभागिता जनाएका थिए । प्रतियोगितामा १४ जना महिला रहेका थिए ।

 

तीन घण्टा ३७ मिनेटमा दूरी पुरा गरेका सेनाकै राजन क्षेत्रीले दोस्रो स्थानसहित ७५ हजार नगद पुरस्कार पाए भने  तीन घण्टा ३८ मिनेटमा दूरी पूरा गरेका वेदबहादुर सुनुवारले ५० हजार रूपैयाँ पुरस्कारसहित  तेस्रो भएका छन् । त्यसैगरी म्याराथनमा महिला तर्फ नेपाली सेनाकी सरिता बासी प्रथम भएकी छन् । वासीले ४२ किलोमिटर दूरी ५ घण्टा १३ मिनेटमा पूरा गर्दै पहिलो भएकी हुन् । 

५ घण्टा १६ मिनेटमा दूरी पूरा गरेकी सेनाकै रेशु बस्नेत दोस्रो र ५ घण्टा २८ मिनेटमा दूरी पूरा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भएकी हुन् । ख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । 

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान) ले २०७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन तथा खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथन आयोजना गरेको हो । पहिलो संस्करणमा हाफ म्याराथन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको हो । गएको वर्ष गोसाइकुण्डबाट रसुवा सदरमुकाम धुन्चेसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथन आयोजना भएको थियो ।

यो वर्ष लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुबेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथनको आयोजना गरिएको टानले जनाएको छ ।