रसुवागढीले शेयर निष्काशनको आवेदन दियो

काठमाडौं, वैशाख १६ । रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारीका लागि छुट्ट्याइएको २४ प्रतिशत शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको शेयर निष्काशनको स्वीकृतिका लागि आवेदन दिएको हो ।अर्थखबर डट् कममा समाचार छ ।

कम्पनीले पहिलो चरणमा निष्काशन गर्न लागिएको उक्त सेयरमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर छुट्ट्याइएको छ ।

उक्त आईपिओ शेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई प्रमुख शेयर निष्काशनकर्ता तथा एनआइबिएल, ग्लोबल अइएमई र एनसिएम मर्चेन्ट बैंकिङलाई सहायक निष्काशनको रूपमा नियुक्त गरेको छ । पहिलो चरणमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन हुने कम्पनीले जनाएको छ ।