रसुवामा एमालेको बहुमत

जेठ, ७, धुन्चे । रसुवा जिल्ला एमालेको लालकिल्ला बनेको छ । बैशाख ३१ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा बहुमत आएपछि रसुवा एमालेको लालकिल्ला बन्न लागेको माननीय सभासद जनार्दन ढकालले बताउनुभयो ।  पाँच गाउँपालिका रहेको रसुवामा गोसाइकुण्ड र कालिका पालिकामा प्रमुखसहितका पदमा एमालेको जित भएको छ भने नौकुण्ड र उत्तरगया गाउँपालिकामा नेपाली काङ्ग्रेसले प्रमुख पद जितेको छ । त्यस्तैगरि पार्वतीकुण्ड गाउँपालिकामा नयाँशक्ति नेपालले प्रमुख जितेको छ । गाउँपालिका प्रमुख पद हारेको ठाउँमा एमालेका उम्मेद्वारहरूले अत्यन्त कम मतले मात्र हारेका छन् ।  पाँचै पालिकाको उपप्रमुख पदमा एमालेका उम्मेद्वारहरूले जित हात पारेका छन् । प्रमुख र उपप्रमुख पद गरी सात सिट एमालेको हातमा परेको कारण जिल्ला समन्वय समितिमा प्रमुखसहित एमालेको पकड हुने पक्का छ । जिल्ला समन्वय समितिमा नेतृत्व गर्नका लागि पूर्व पार्टी सचिव तथा नौकुण्ड ३ बाट सदस्य पदमा विजयी कुलप्रसाद भट्टलाई पार्टीले अघि सारेको केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिनुभयो । 

 

त्यसैगरि नेकपा (एमाले) ले पाँच पालिकाका २७ वडामध्ये १२ वडामा वडाध्यक्षसहितका प्यानल जितेको छ । त्यस्तै नेपाली काङ्ग्रेसले ७, नयाँशक्तिले ५ र माओवादी केन्द्रले ३ वडा जितेको छ । यसरी हेर्दा रसुवामा एमालेले लालकिल्ला बनाएको छ । एमालेले वडा जितेको ठाउँमध्ये कालिका गाउँपालिकाको वडा नं २ मा खुल्ला सदस्य १ नयाँशक्तिको आएको छ भने उत्तरगया पालिकाको वडा नं १ मा नयाँशक्तिले वडाध्यक्ष जितेकोमा ३ सदस्य एमालेको आएको छ ।

 

रसुवा जिल्लाको नौकुण्ड र गोसाईकुण्ड गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले तालमेल गरेको थियो । तालमेल अनुसार नौकुण्ड पालिकामा प्रमुख पदमा मात्र काङ्ग्रेसले सफलता पायो । माओवादी केन्द्रका उपाध्यक्ष पदका उम्मेद्वारले भने झिनो मत प्राप्त गरेका छन् भने गोसाईकुण्ड पालिकामा तालमेल गरेका दुबै पार्टीका उम्मेद्वार जित्न सकेनन् ।

कुन् कुन् पालिकामा कस-कसले जिते, प्रमुख र उपप्रमुख ? कति मत ?

पाँच गाउँपालिका र त्यस अन्तर्गतका २७ वडामा गरी १३९ जना जनप्रतिनिधि निर्वाचित रसुवामा नेकपा (एमाले) ले ६८, नेपाली काङ्ग्रेसले २९, नयाँ शक्ति नेपालले २७ र माओवादी केन्द्रले १५ सिटमा जितेका छन् । विभिन्न वडामा दलितको संख्या नभएका कारण ६ जना दलित महिलाको सिट रिक्त रहन गएको छ ।

गोसाइकुण्ड गाउँपालिकामा प्रमुख पदमा कैसाङनुर्पु तामाङले जितेका छन् । उनले एक हजार आठ सय अठ्ठाइस मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेद्वार तथा जिल्ला सभापति पेम्बा तामाङले एक हजार पाँच सय पाँच मत प्राप्त गरेका छन् ।  लामो समयदेखि रसुवाको सामाजिक क्षेत्रमा छवि बनाएका तामाङ यसअघिसम्म मानेकोर सोसाईटी नेपाल र उद्योग वाणिज्य संघ रसुवाको अध्यक्ष पदमा रही कुशल कार्य गरिसकेका थिए ।  त्यस्तैगरि उपप्रमुख पदमा एमालेकै उम्मेद्वार करग्याल्मो श्रेष्ठले एक हजार सात सय चालिस मत प्राप्त गरी विजयी भएकी छिन् । रसुवा काठमाण्डौ सम्पर्क मञ्चमा कुशलतापूर्वक कार्य गरेकी श्रेष्ठ बृददिम गाउँकी स्थानीय बासिन्दा हुन् ।  उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका फुर्पा तामाङले एक हजार एक सय उनान्चास मत प्राप्त गरेका थिए ।

कालिका गाउँपालिकामा प्रमुख पदका उम्मेद्वार सीता पौडेल (अधिकारी) ले एक हजार चार सय अन्ठाउन्न मत प्राप्त गरी विजयी भएकी छिन् । भरखरै एमालेको नेतृत्वमा आएकी अधिकारीको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका साधुराम पौडेललाई २३३ मतान्तरले हराएकी हुन् । त्यस्तै उपप्रमुख पदमा एमालेकै भवानीप्रसाद न्यौपानेले एक हजार सात सय दुई मत प्राप्त गरी विजयी भएका छन् । साबिकको धैबुङ गाविसको उपाध्यक्ष हुँदै कार्यबाहक अध्यक्ष चलाईसकेका न्यौपानेको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी शिला मगरले एक हजार चार सय एघार  मत प्राप्त गरेकी थिईन् ।

नौकुण्ड गाउँपालिकामा नेपाली काङ्ग्रेसका नुर्पुसाङ्बो घलेले दुई हजार तीन सय एक मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका म्लहङ्दुङ (विकास) मोक्तानले एक हजार सात सय सत्र  मत प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुख पदमा एमालेकी सिर्जना लामाले एक हजार छ सय सात मत प्राप्त गरी विजयी भएकी छिन् । सानै उमेरदेखि राजनीतिमा रूचि राख्ने लामा २१ वर्षकै उमेरमा गाउँपालिकाको उपप्रमुखको बागडोर सम्हाल्न पुगेकी छिन् । उनी हालै निर्वाचित उपप्रमुखमा सबैभन्दा कान्छी पनि हुन् ।

पार्वतीकुण्ड गाउँपालिकामा नयाँशक्ति नेपालका उम्मेद्वार बुचुङ तामाङले नौ सय चौसठ्टी मत प्राप्त गरी विजय हात पारेका छन् । साबिकको हाकु गाविसको कार्यलय सहायक भई कार्य सम्हालेका तामाङका निकतम प्रतिद्वन्दी एमालेका ल्हाक्पागोम्बो तामाङले छ सय त्रिचालिस मत प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुख पदमा एमालेका नविना लामाले छ सय पैंसठ्ठी मत प्राप्त गरी जित हात पारेकी छिन् ।

त्यस्तै उत्तरगया गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उपेन्द्रराज लम्सालले एक हजार छ सय तीस मत प्राप्त गरी विजयी भएका छन् । नेपाली काङ्ग्रेस रसुवाका धरोहर मानिएका लम्सालको निकतम प्रतिद्न्दी एमालेका अशोककुमार घिमिरेले एक हजार चार सय त्रियानब्बे मत प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुख पदमा एमालेकी चमेली गुरूङले एक हजार आठ सय अठहत्तर मत प्राप्त गरी निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी उम्मेद्वारलाई पाँच सय त्रियानब्बे मतान्तरले हराएकी हुन् । कम उमेरमा नै पालिका उपप्रमुखको बागडोर सम्हाल्न पुगेकी गुरूङ डाँडागाउँकी स्थानीय बासिन्दा हुन् ।

वडा अध्यक्षमा कसको कति मत ?

गोसाइकुण्ड गाउँपालिका १ मा नेकपा (एमाले) का फुर्पुसोनाम तामाङले ५९२ मत, वडा नं २ मा नेपाली काङ्ग्रेसका दावाढिन्डुप तामाङले १८३, वडा नं ३ नेपाली काङ्ग्रेसकै लाक्पाग्याल्बो तामाङले १८६ मत, वडा नं ४ मा एमालेका सुप्पा तामाङले १०३ मत, वडा नं ५ मा एमालेका सिङ्गीढिन्डुप तामाङले ५९२ मत, वडा नं ६ मा एमालेकै दावासिदार वाईवाले ४६७ मत प्राप्त गरी वडाध्यक्ष पदमा विजयी भएका छन् ।

कालिका गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका मालफुर्वा तामाङले ४८९ मत, वडा नं २ मा एमालेका बिक्रम लोप्चनले ५१४ मत, वडा नं ३ मा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४०३ मत, वडा नं ४ मा नेपाली काङ्ग्रेका मंगलमान तामाङले २६७ मत  वडा नं ५ मा एमालेका रामहरि देवकोटाले ४८५ मत प्राप्त गरी वडाध्यक्ष पदमा विजयी भएका छन् ।

पार्वतीकुण्ड गाउँपालिका वडा नं १ र २ मा नयाँ शक्तिका वडाध्यक्षका उम्मेद्वार क्रमश: निमा दिन्डुप तामाङ- १४६, दावा नोर्चुङ तामाङ १७८ विजयी भएका छन् ।  वडा नं ३ मा एमालेका दावागोम्बो तामाङ १५८ मत र वडा नं ४ मा माओवादी केन्द्रका दावाग्याल्जेन तामाङ २२५ मतले विजयी भएका छन्  । त्यस्तै वडा नं ५ मा एमालेका टासीछेवाङ तामाङले २५३ मत मत प्राप्त गरी विजयी भएका छन् ।

नौकुण्ड गाउँपालिका वडा नं १ मा नयाँ शक्ति नेपालका कान्छ तामाङ ३६७ मत, वडा नं २ मा नेपाली काङ्ग्रेसका लालसिंह नेकोरले २७५ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं ३ मा एमालेका मेम्बर तामाङ ४४०, वडा नं ४ मा नयाँशक्ति नेपालका शुक्रमान पाख्रिन ३१८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै वडा नं ५ मा एमालेका घोन्ते ग्याम्जनले ३८७ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । वडा नं ६ मा नेपाली काङ्ग्रेसका धर्मबहादुर थोक्रा ३८६ मतले विजयी भएका छन् ।

उत्तरगया गाउँपालिका वडा नं १ मा नयाँशक्ति नेपालका  बमबहादुर तामाङले २७६, वडा नं २ नेपाली काङ्ग्रेसका खुवाबहादुर गुरुङ ३५४, वडा नं ३ मा नेकपा एमालेका लालबहादुर तामाङ २४७, वडा नं ४ मा एमालेका केशरबहादुर बुलुन ५०४ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं ५ मा नेपाली काङ्ग्रेसका इश्वर थापा विजयी भएका छन् ।