चीनले माग्यो निर्यातको सूचि

धुन्चे, साउन १६ – नेपालबाट चीन लैजान सकिने तरकारीजन्य वस्तु, सागसब्जी, मासुजन्य वस्तुको सूचि चिनीँया टोलीले माग गरेको छ । सदरमुकाम धुन्चेमा शनिबारबसेको दुई पक्षीय बैठकमा चिनीँया टोलीले उक्त सूचि माग गरेको हो ।

 

जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार नेपालबाट जारी गरिने फाइटो स्यानिटरी प्रमाणपत्रका आधारमा तरकारीजन्य वस्तु, मासुजन्य पदार्थ सामान चीनतर्फ सहज रुपमा निकासी गर्ने वातावरण सिर्जना गर्ने सहमति भएको छ ।  सूचि उपलब्ध गराए गुणस्तर परीक्षणका लागि चिनीँया टोली नेपाल आउने पनि न्यौपानेले जानकारी दिनुभयो ।  

 

सीमा नाकामा हुन सक्ने मानव वेचविखन, लागुपदार्थ ओसार पसार, वन्यजन्तुको अंगहरुको निकासी, बहुमूल्य जडिवुटी तथा अवैध सुन नियन्त्रणका लागि नाकामा गस्ती निगरानी बढाउने तथा जाँचमा कडाई गर्ने विषयमा समेत छलफल भएको छ । 

 

त्यस्तै बैठकमा रसुवाभन्दा बाहिरका व्यक्तिहरूलाई एकदिने पास दिनका लालि नेपाल पक्षले चिनीँया टोलीसँग आग्रह गरेको छ ।