काम पुरा नगरी योजनाको फर्छ्यौट

धुन्चे, साउन २० । जिल्लामा सञ्चालित विभिन्न योजनाहरूको काम पुरा नगरी फर्छ्यौट भएको जन गुनासो आएको छ । जिल्ला समन्वय समितिमार्फत् सञ्चालित योजनाहरूको नीतिगत भ्रष्टाचार भएको उपभोक्ताले गुनासो गरेका छन् । गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले समाचार लेख्नु भएको छ ।

 

पार्वतीकुण्ड गाउँपालिका २ को ग्रे गाउँदेखि हाकु सडक निर्माण गर्नका लागि टेण्डर गरिएको र काम पुरा नगरी बिल भुक्तानी भएको छ । प्राविधिक इन्द्रबहादुर जिरेलले भुक्तानीका लागि सिफारिस गरेपछि निर्माणको जिम्मा पाएको सिएल कन्ट्रक्सन एण्ड संगीता सप्लायर्सलाई भुक्तानी गरिएको जिससले जनाएको छ । तर त्यस योजनामा काम पुरा नभएको बताइएको छ ।

 

सम्झौता अनुसार नरम तथा कडा चट्टान फुटाउने, ग्याभीन हाल्ने, माटो काट्ने उल्लेख भएपनि काम नभएको स्थानीय उपभोक्ताको गुनासो छ । एकतीस लाखमा स्वीकृत भएको टेण्डर १ सय मीटर पनि सडक नखनी १७ लाख भुक्तानी भएको स्थानीय सातप्रसाद तामाङले बताए भने सप्लायर्सका ठेकेदार छेसिङ्गी लामाले भने म्याद थप गरी काम गर्ने बताए ।

 

पार्वतीकुण्ड गापा २ का वडाध्यक्ष दावानोर्चुङ तामाङका अनुसार सो सडक मर्मत, नाली निर्माण, रक कटिङ गर्न ब्रेकर प्रयोग गर्ने, बाल तथा तार जाली लगाउने उल्लेख भएपनि असार अन्तमा २ दिन मात्र काम भएको छ ।

 

त्यस्तै हाकुको नेसिङमा तामाङ संस्कृतिको जर्गेना गर्ने बहानामा संग्रहालय खोल्ने भनेर उपभोक्ता समितिका अध्यक्ष फुर्पाचेङा , प्राबिधिक र एलडिओ मिलेर काम नगरी १ लाख ८० हजार रुपैंयाँ अनियमितता भएको छ ।  स्थानीय धनबहादुर तामाङका अनुसार सानो हाकुमा गोम्बा मर्मतका लागि ८० हजार , नाली प्लाष्टर २ लाख ५० हजार र गोरेटो सुधार तथा मर्मत भनेर छुट्टयाईएको काममा पनि अनियमितता भएको छ ।

 

पार्वतीकुण्ड गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार जलविद्युत आयोजनाले खनेको चिलिमे तातोपानी सडकका नाममा पनि जिससले २५ लाख रूपैँयाँ भुक्तानी गरेको छ । कागज मिलाएर आफ्नै आँखा अगाडि नीतिगत भ्रष्टाचार भएको तामाङले बताए ।

 

अनियमितता भएको भन्दै गुनासो आएका योजनाहरूमा कालिका गाउँपलिका वडा नं ३ को कटुन्जे मनकामना धारापानी ढकालडाडाँ सडक, सानोहाकु नाली तथा गोरेटो मर्मत, धुन्चेको मेन्च्यु डुप्च्यु जाने गोरेटो बाटो मर्मतका योजनाहरू रहेका छन् ।

 

जिल्लाभरका योजनाको अनुगमन नै नगरी भुक्तानी गरी भ्रष्टाचार भएको जनगुनासो आए पनि स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेयले भने भ्रष्टाचार नभएको दाबी गरेका छन् । उपभोक्ताको कडा टिप्पणी आउने देखिएपछि जिससबाट सञ्चालित योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम पनि आयोजना गर्न नसकेको उपभोक्ताले बताएका छन् ।