रसुवागढी नाकामा ट्रान्समिसन लाइन बन्ने

धुन्चे, साउन २०नेपाल सरकार, उर्जा मन्त्रालयले रसुवागढी नाकामा ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको छ । ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्रको मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

 

ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार रसुवागढी-केरूङसहित  तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने समझदारी पत्र चीन पठाइसकिएको छ  ।

 

सम्झौताको मस्यौदामा उल्लेख भए अनुसार ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, नेपालका तीन मुख्य नदीहरू सप्तकोसी, सप्तगण्डकी र कर्णालीलाई मुख्य आधार मानेर क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको हो । यसका लागि मुख्य चारवटा अन्तरदेशीय प्रसारण लाइन र नेपालभित्र पनि ४०० वा २२० केभी क्षमताका ट्रान्समिसन लाइनको विकास गरिनेछ ।

 

नयाँ पत्रिका दैनिकको समाचार अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी चीन भ्रमणमा यस विषयलाई एजेन्डा बनाइने छ ।