पहिरोले मानवीय क्षति, पुनर्थापनामा तीब्रता

धुन्चे, साउन २४ । उत्तरगया गाउँपालिका-४ पैरेमा शनिबार राती आएको पहिरोले पुरिएर चार जनाको ज्यान गएको छ । पहिरोमा पुरिएका चारै जनाको शब उद्दार गरिएको छ ।  जिल्ला दैवी उद्दार समितिको बैठकमा  प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले पहिरो पीडितको राहत तथा पुनर्थापनाका तीब्र कार्य भइरहेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पहिरोमा परी ज्यान गुमाउनेहरूमा ७७ वर्षका धर्मबहादुर थापा, ७८ वर्षका भक्तबहादुर नगरकोटी, २३ वर्षका मुना थापामगर र ४ वर्षका रविन थापा मगर हेका छन् भने घाइते एक जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ ।

सो पहिरोमा परी १५ घरपरिवारको घर र अन्नपात, पशुचौपायाको नोक्सानी भएको छ । तत्कालका लागि उनीहरूलाई त्रिशूली थ्रीए र थ्रीबीको परिसरमा पुनर्थापना गरिएको छ ।

पहिरोमा परी क्षति भएका १५ घरमध्ये २ घर नयाँ बनेको घर रहेको बुझिएको छ । त्यसमध्ये पैरेबेसी र कुवापानीका गरी एकसय घरधुरी उच्च जोखिममा रहेका छन् ।

पहिरोले करीब ४० रोपनी खेत पुरेको छ भने धेरै अन्नपात नोक्सान भएको छ ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार प्रभावित १५ परिवारलाई १० हजार रूपैयाँका दरले तत्कालीन राहत र मृतकको किरिया खर्च स्वरूप नजिकको आफन्तलाई प्रति मृतक १ लाखका दरले राहत उपलब्ध गराईएको छ । खानेपानी, शौचालय, सरसफाई, औषधोपचार, मनोपरामर्शका लागि सम्बन्धित कार्यालयलाई सेवा पुर्याउन पनि उहाँले जोड दिनुभयो ।

जिल्लाका अन्य क्षेत्रमा पनि यस्ता क्षति भइरहेको र अझै धेरै स्थान जोखिममा परेको प्रजिअ न्यौपानेले बताउनु भयो ।

भुकम्पपछि भौगोर्बिकबिदहरूले उक्त स्थानलाई जल निकास र बायो इञ्जिनियरिङ गरी सुरक्षित गर्नुपर्ने सूचिमा राखेको थियो ।

त्यस्तै २० गते राती परेको अविरल वर्षाका कारण नौकुण्ड गाउँपालिकाको पुङखोला – युब्रादेखि बेत्रावतीसम्म जम्मा ६ वटा झोलुङ्ले पुल पनि बगाएको छ । नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाका अनुसार गाउँ वारपार गर्ने पुलहरू बगाएपछि आवातजावतमा निकै समस्या भएको छ ।