कालिका गापाको गाउँसभा सम्पन्न

कालिकास्थान, साउन २१ । कालिका गाउँपालिकाको प्रथम गाउँसभा हिजो सम्पन्न भएको छ प्रथम गाउँ परिषद्बाट नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गरी पारित गरिएको छ  । आर्थिक वर्ष २०७४/०७५ को लागि १६ करोड ७३ लाख ६२ हजार १ सय ३८ रुपैँयाँ विनियोजन गरिएको छ ।

गाउँपालिका प्रमुख सीता अधिकारीका अनुसार  शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारमूलक र प्रवद्र्धनात्मक कार्यक्रम, विकास निर्माण, लक्षित वर्ग कार्यक्रमलगायतको क्षेत्रमा बजेटहरु विनियोजन गरिएको छ ।

यस्तै, भूमिहीन र सुकुमबासी लक्षित कार्यक्रम पनि समावेश गरिएको उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पालिकालाई वाइफाइ जोन बनाउने, कालिका हिमालय क्याम्पसमा डिग्री (स्नाकोत्तर) तहसम्म पढाई सञ्चालन गरिने, जनतालाई प्रत्यक्ष सहयोग पुग्ने गरी पालिका मातहतमा रहनेगरी एम्बुलेन्स सञ्चालनमा ल्याउने, वर्थिङ सेण्टरसहितको अस्पताल सञ्चालन गर्ने जस्ता महत्वपूर्ण र दिर्घकालिन योजनाहरु पारित गरिएको छ । जनतासँग प्रत्यक्ष र दैनिकरुपमा जोडिएको कार्यक्रमहरुलाई प्राथमिकताको साथ कार्यक्रम तर्जुमा गरिएको गाउँपालिकाले जनाएको छ ।