लाङटाङमा अन्तर्राष्ट्रिय स्मृति पार्क बन्दै

रसुवा, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा लिइने रसुवामा अन्तराष्ट्रिय भुकम्प स्मृति पार्क बन्ने भएको छ ।

खेलकुदलाई पर्यटनसँग जोडने उदेश्यले रसुवाको लाङटाङस्थित क्यान्जिङ भ्यालीमा प्रथम राष्ट्रिय ‘स्की’ च्याम्पियनसीप प्रतियोगिताको उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गर्दै संष्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले लाङटाङमा अन्तराष्ट्रिय भुकम्प पार्क बनाइने बताउनुभएको हो ।

यही १३ र १४ गते दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा १६ प्रतिष्पर्धीहरु सहभागी रहेकाथिए । उक्त प्रतियोगितामा पुरुषतर्फबाट साहसराम श्रेष्ठ र महिलातर्फ फुञ्जु लामा प्रथम भएका छन । (स्कि) हिँउमा चिप्लेटी खेल्ने रमाइलो प्रकारको प्रतियोगिता हो । यस प्रकारको प्रतियोगिता नेपालमा पहिलोपटक भएको हो ।

‘यस प्रकारको खेल खेल्नका लागि हिँउ पर्ने र लामो समयसम्म हिँउ जमिरहने स्थानको आवश्यक पर्ने हुन्छ । लामो समयसम्म हामीले गरेको अध्ययनले समुन्द्रीसतहबाट तीन हजार आठ सय मिटरको उचाईमा अवस्थित क्यान्जिङ भ्याली सबै दृष्ट्रिले उपयुक्त देखिएकाले हामीले उक्त स्थान रोजेका हौं ।’ नेपाल स्कि संघका अध्यक्ष समेत रहेका ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दैनिक नेपाल डटकमलाई बताए ।

कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोखरेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट,रसुवाका सभासद् जनार्दन ढकाल,नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल सहित स्थानीयबासीहरुको समेत उल्लेख्य उपस्थिती रहेकोथियो ।

गत वैशाख १२ मा गएको शक्तिशाली भुकम्पका कारण यो क्षेत्रमा स्वदेशी तथा विदेशी गरी करिव १ सय ७५ जना व्यक्तिको ज्यान गएकोथियो ।‘तिनकै स्मरणमा लाङटाङलाई अन्तराष्ट्रिय भूकम्प स्मृति पार्क बनाउने घोषणा समेत पर्यटनमन्त्री पोखरेलले गर्नुभएको ’ एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिनुभयो ।

स्नो रिर्सोटको स्थापना समेत गरी यस प्रकारको खेललाई व्यवसायिक रुपमा अगाडि लैजाने सोचमा आफूहरु रहेको श्रेष्ठको भनाई छ ।

रसुवाको क्यान्जिङभ्यालीलाई नेपालकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा लिने गरिन्छ । स्कि खेललाई यवसायिक रुपमा अगाडि बढाउन सकेको खण्डमा रसुवाले यसबाट धेरै फाइदा लिनसक्ने देखिन्छ ।