प्रहरी-नागरिक सम्बन्ध विस्तारका लागि कार्यक्रम

प्रहरी र नागरिक बीच सहकार्य, सद्भाव र समझदारी हुनुपर्ने बताउँदै बक्ताहरूले राजनीतिक नेतृत्वको दबाबका कारण घटनाका दोषी तथा अपराधीहरू छुटेका भन्दै यस्तो कार्य रोक्नु पर्नेमा जोड दिए ।

कालिकास्थान, भाद्र २ गते । मानव अधिकारको प्रवर्धनार्थ प्रहरी र नागरिक बीचको सुमधुर सम्बन्ध विकास गर्नका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय, कालिकास्थानको आयोजना तथा द डेनिस इन्स्टिट्युट फर ह्युमन राइट्सको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा नागरिक समाजका अगुवा, कृषक, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको इलाका प्रहरी कार्यालय, कालिकास्थानले जनाएको छ ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले समुदायमा मानव अधिकारको प्रवर्धनका लागि नागरिक र प्रहरी बीच सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउन पनि नागरिकलाई आग्रह गर्नुभयो । सभ्य समाज निर्माण गरी मानव अधिकारको रक्षार्थ नागरिक र प्रहरी मिलेर कार्य गर्नु पर्नेमा प्रसाईले जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का दावालाक्पा तामाङ, नेपाली काङ्ग्रेसका साधुराम पौडेल, माओवादी केन्द्रका चामसिङ लोप्चन, नयाँशक्ति नेपालका कृष्णबहादुर तामाङ, स्थानीय कुलप्रसाद लामिछाने, मिष्ठुमाया तामाङलगायतले मानव अधिकार रक्षाका लागि प्रहरी र नागरिकको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका थिए । प्रहरी र नागरिक बीच सहकार्य, सद्भाव र समझदारी हुनुपर्ने बताउँदै बक्ताहरूले राजनीतिक नेतृत्वको दबाबका कारण घटनाका दोषी तथा अपराधीहरू छुटेका भन्दै यस्तो कार्य रोक्नु पर्नेमा जोड दिए ।

समुदायमा अझै पनि प्रहरीप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएकोले यस्ता समस्या समाधानका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने कार्यक्रमका सहभागीहरूले बताए ।