तिज विशेष कार्यक्रम सम्पन्न

कालिकास्थान, भाद्र, ८ गते । तिजको अवसर पारेर महिला अधिकार मञ्च रसुवाले एक प्रतियोगित्मक कार्यक्रमको आयोजना गरेको छ । ''विकासमा महिलाको सहभागिता बढाई भ्रषटचारको अन्त्य गरौं'' भन्ने मूल नाराका साथ सम्पन्न उक्त प्रतियोगितामा विभिन्न महिला समूहहरूले भाग लिएका थिए । प्रतियोगितामा कर्मीडाँडा महिला समूह प्रथम, कटुञ्जे महिला समूह द्वितीय र गैराघर महिला समूह तृतीय भएका छन् ।

प्रतियोगी समूहहरूले विकासमा महिलाको सहभागिता बढाउँदै विकास निर्माण कार्यलाई पारदर्शी बनाउन सकिने र भ्रष्टाचारको अन्त्य हुने विषयलाई उठान गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महिला तथा बालबालिका कार्यलय प्रमुख, कालीजंग गण-कालिकास्थानका गणपति, प्रहरी चौकी कालिकास्थानका प्रमुख, कालिका गाउँपालिकाका प्रमुख, उपप्रमुख र विभिन्न  संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको मञ्चकी अध्यक्ष मिष्ठुमाया तामाङले बताइन् ।

कार्यक्रम सञ्चालनका लागि कालिका गाउँपालिका, नेपाल कृषिवन प्रतिष्ठानले आर्थिक सहयोग गरेको कार्यक्रम सञ्चालिका सुष्मा न्यौपानेले जानकारी दिइन् ।

त्यस्तै उत्तरगया गाउँपालिका अन्तर्गत माझगाउँमा तिज विशेष कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।