उत्तरगयामा एनजीओ डेस्क स्थापना हुने

एउटै संस्थालेधेरै शीर्षकमा कार्य गरिहेकोले उपलब्धि हासिल गर्न नसकिएको भन्दै एक गैससलाई एक कार्यमा दृढ भएर लाग्न आग्रह  गरिएको छ । 

बेत्रावती, भाद्र ९ गते । उत्तरगया गाउँपालिकामा कार्यरत विभिन्न संघसंस्थाहरूको समन्वयलाई विस्तार गर्नका लागि एनजीओ डेस्कको स्थापना हुने भएको छ । पालिकास्तरमा कार्यरत संघसंस्थाहरूको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पालिका प्रमुख उपेन्द्रराज लम्सालले सो बताउनु भएको हो ।

गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख लम्सालले स्थानीय तहको सरकार र गैरसरकारी संस्था हातेमाले गर्दै व्यवस्थित विकास निर्माणमा जुट्न आग्रह गर्नु भयो ।

कार्यक्रममा पालिकाका उपप्रमुख चमेली गुरुङले गैरसरकारी संस्था र सरकारी संस्थाका एक अर्काका परिपूरक भएको र दुबैले जनताको काम गर्ने भएकोले समन्वय र समझदारीलाई गाढा बनाएर लैजानु पर्ने बताउनु भयो । उहाँले एउटै संस्थाले धेरै शीर्षकमा कार्य गरिहेकोले उपलब्धि हासिल गर्न नसकिएको भन्दै एक गैससलाई एक कार्यमा दृढ भएर लाग्न आग्रह गर्नु भयो ।

गाउँपालिकाका कार्यकारी अधिकृत लोकेन्द्र ज्ञवालीले सामाजिक संघसंस्था सञ्चालन सम्बन्धि कार्यविधि प्रस्तुत गर्नु भएको थियो । गैरसरकारी संस्था सञ्चालनार्थ संबैधानिक व्यवस्थाको बारेमा जानकारी दिँदै ज्ञवालीले पालिकामा गैरसरकारी संस्थाको कार्यक्रमलाई व्यवस्थित गर्न एकद्वार प्रणाली नीति लागू गर्नु पर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका वडाध्यक्षहरूले गैरसरकारी संस्थाको कार्यप्रति हुने गरेको डुप्लीकेसनलाई रोक्नु पर्ने बताए । भुकम्पपछि जनतालाई दशा लागेको र गैससहरूलाई दशैं आएको भन्दै गैरसरकारी संस्थाको कार्यप्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरूले  प्राय गैरसरकारी संस्थाको कार्यक्रममा तालिम राखिएको र सबैको तालिममा एउटै व्यक्तिमात्र सहभागी भइरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, रसुवाका अध्यक्ष शारदा आचार्यले गैर सरकारी संस्थाको कार्यक्रममा हुनेगरेको डुप्लीकेसन रोक्न महासंघले आवश्यक कार्य गर्ने बताउनु भयो ।

अन्तर्क्रियामा कार्यप्रगति तथा आगामी योजना प्रस्तुत गर्ने संस्थाहरूमा दीगो उद्यम तथा वातावरण विकास समाज, जनजागृति महिला समूह, साहस नेपाल, जिआइजेड, परिवर्तन/पात्र, कर्डयड/लुमन्ती, आत्मनिर्भर सेवा केन्द्र, हेल्भेटास, डिएफ आईडी, पिपल इन निड, अधिकारका लागि पहुँच कार्यक्रम, नेपाल कृषिवन प्रतिष्ठान, इकार्डस् नेपाल, एसीएफ, लाङटाङ क्षेत्र संरक्षण सरिकार समाज र इस्याफ नेपाल रहेका छन् ।