बिस्थापितहरू आफैं टहरा बनाउन थाले

धुन्चे, भाद्र १५ गते । रसुवाको डाँडागाउँ र हाकुका भुकम्पबाट विस्थापितहरू आफैं टहरा बनाउन थालेका छन् । लामो समयदेखि विभिन्न संघसंस्थाको सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले एकीकृत बस्ती विकास गर्ने भनेपनि निर्माण ढिलाइ भएपछि उनीहरू आफैं पुनर्बासमा जुटेका हुन् । यसअघि बसिरहेका बस्तीको भाडा तिर्न  नसकेपछि उनीहरू पुनर्बास गराइने क्षेत्र खाल्टेमा टहरा बनाउन लागेका हुन् ।

भुकम्पबाट बिस्थापितहरू आफैं पुनर्बासमा जुटेपनि बस्ती बिकासका लागि गरिएको प्रारम्भिक अध्ययन प्रतिबेदनमा भने उक्त स्थान असुरक्षित रहेको बताइएको छ । डेभलेपमेन्ट सपोर्ट कन्सल्टेन्ट प्रालिले बस्ती विकासको लागि गरेको सम्भाव्यता अध्ययन प्रतिबेदनमा उक्त क्षेत्र नदीको किनारामा रहेको र भविष्यमा बाढीको  खतरा हुनसक्ने  उल्लेख छ । पुननिर्माण प्राधिकरणका सिडिइ राजकाजी श्रेष्ठको हस्ताक्षरित पत्रमा जिल्लाका सरोकारवालाहरूलाई उक्त वस्ती विकासको बिकल्प खोज्न अनुरोध गरिएको छ ।

साबिकको हाकु गाविस वडा नं ८, ९ र डाँडागाउँ गाविसका गरी ५ सय ९८ घरपरिवार विस्थापित भइ उक्त क्षेत्रको आसपासमा अस्थायी बसोबास गर्दै आइरहेका छन् । बिस्थापितलाई घडेरी किन्न २ लाख दिने भने अनुसार १ सय ४६ परिवारले रकम प्राप्तिका लागि आवेदन दिएका छन् ।  

हेर्नुस् त्यो क्षेत्रको ताजा दृश्य