तेस्रो मुलुकका पर्यटक पनि केरूङ जान पाउने

धुन्चे, भाद्र १५ गते । चिनियाँ पर्यटक मात्र आवतजावत गर्ने रसुवागढी केरूङ नाकाबाट तेस्रो मुलुकका पर्यटक पनि आवतजावत गर्न पाउने भएका छन् । हालै ल्हासामा नेपाल र चीनका अधिकारीले यो नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि यो वातावरण सिर्जना भएको हो ।  विभिन्न पत्रपत्रिकामा यस सम्बन्धि खबर छापिएका छन् । 

घोषणाा सभामा तिब्बत सरकारकी सहायक अध्यक्ष लिउ मेइ, नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलगायतका बक्ताले  यो नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास भएपछि दुई देश बीच व्यापार, पर्यटन तथा जनसम्पर्क अभिवृद्धि हुने विश्वास व्यक्त गरे । 

यो नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन २०१७ जुनमा नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक पत्र आदानप्रदान भएको थियो। २०७२ वैशाखको भूकम्पले तातोपानी नाका बन्द भएपछि नेपालको चीनसँगको व्यापार रसुवागढी नाकाबाट हुँदै आएको छ।

यो नाकाको विकासका लागि चीनतर्फ धेरै पूर्वाधार विकास भईसकेको र नेपालतर्फ पनि सडक स्तरोनन्तिका कार्य भइरहेको छ । रसुवागढी भन्सार प्रमुख केदार पनेरूका अनुसार टिमुरेमा सुख्खा बन्दरगाहको डिजाइन पनि अन्तिम चरणमा पुगेको छ। स्याप्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटोमा चीन सरकारले एक लेनको ग्राभेल बनाएको छ। त्यो बाटोलाई दुई लेन बनाउन डिजाइन भइसकेको छ।

गल्छी-रसुवागढी सडकको बेत्रावती–मैलुङ–स्याप्रुबेसी खण्डमा नेपाली सेनाले ट्रयाक खोलिरहेको छ। वैशाख १२ को भूकम्पले बेत्रावती–मैलुङ खण्डमा पहिरो खसेपछि ट्रयाक पुरिएको थियो। उक्त सडक खण्डमा पहिरो हटाउने र नयाँ ट्रयाक खोल्ने जिम्मा गत मंसिरमा नेपाली सेनालाई दिइएको हो।

पासाङ ल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे–स्याप्रुबेसी ५४ किलोमिटर छ। 

बेत्रावती-स्याप्रुबेसी सडकमा त्रिशूली नदीको किनारै किनार जाने यो सडक खण्डमा घुम्ती हुने छैनन्। पहिरोको जोखिम भने यो बाटोमा पनि उत्तिकै छ। सेनाले आउने चैतसम्म उक्त बाटोको ट्रयाक खोलिसक्ने जनाएको छ। यता सडक विभागका गल्छी-बेत्रावती सडक दुई लेन बनाउने काम अघि बढाएको छ। ३ अर्ब २५ करोड खर्च गरेर आउने भदौसम्म बाटो दुई लेनको बनाइसक्ने गरी काम भइरहेको गल्छी-बेत्रावती सडक आयोजनाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए।रसुवागढी-गल्छी सडकलाई चितवनको ठोरी नाकामा जोड्ने सरकारी योजना छ।