पत्रकारले गरे सम्मान

धुन्चे, भाद्र १६ गते । जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल पत्रकार महासंघ, रसुवा शाखा र रेडियो रसुवा १०२.१ मेगाहर्जले सम्मान गरेको छ । जिल्लाको विकास निर्माण तथा पारदर्शिता कायम गर्न समन्वय समितिले सफलतापूर्वक कार्य गर्ने कामनाका साथ उक्त सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ, महिला सदस्यहरू चित्रकुमारी न्यौपाने, शारदादेवी गुरुङ, सुशिला तामाङ, सदस्यहरूमा नुर्पुछिरिङ तामाङ, कृष्णप्रसाद सुवेदी (रमेश), अर्जुप्रसाद पौडेल र तेम्पाग्याल्बो घले रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सभासद छोवाङतेन्जिन तामाङले समाजमा रहेको बिकृति हटाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेकोले पत्रकारहरूले सत्यतथ्य कुराहरू मात्र लेख्नु पर्ने बताउनु भयो । तथ्य सूचनाले मात्र पत्रकार र पत्रकारिताप्रति जनविश्वास बढ्ने भएकोले फितलो सूचनाको आधारमा समाचार नलेख्न पनि उहाँले आग्रह गर्नु भयो ।

सम्मानित व्यक्तित्व तथा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले विभिन्न कालखण्डमा राज्यको व्यवस्था परिवर्तन गर्न पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै जिल्लाको विकास निर्माण कार्यमा हुने गरेको अनिमियता रोक्न पत्रकारले सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले सूचनाको युगमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकारितामार्फत् राम्रा कार्यको उजागर र नराम्रा कामको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका अध्यक्ष हेमनाथ खतिवडाले पत्रकारहरू सबै कुरामा विज्ञ नहुने भएकाले पत्रकारलाई तथ्य सूचना उपलब्ध गराउनु पर्ने बताउनु भयो । कतिपय घटनाहरूको कुनै पनि सूचना बाहिर आउन नसकेकोले सूचना प्रवाहमा अप्ठ्यारो परेको पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रसुवाका संस्थापक ज्ञानेन्द्र न्यौपाने र रेडियो रसुवाका अध्यक्ष दिपक लामाले रसुवाको पत्रकारिताको इतिहाँस, वर्तमान अवस्था र भोलिको आवश्यकताको बारेमा जानकारी गराएका थिए ।