छ सय १४ बालबालिका कुपोषणमा

धुन्चे, भाद्र २३ गते । रसुवा जिल्लाका विभिन्न गाउँपालिकामा पाँचसय १७ जना बालबालिकाहरू शीघ्र कुपोषित रहेका छन् । स्वास्थ्य कार्यालयले युनिसेफ/एसिएफको सहयोगमा सञ्चालन गरेको ''शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम'' मार्फत् उनीहरूको उपचार भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृत नवराज न्यौपानेका अनुसार अझै १० जना बालबालिका बहिरंग सेवा केन्द्रमा  उपचाररत छन् । 

छ सय १४ जना कुपोषित बालबालिका मध्ये एकसय २ जनाको परीक्षण रिपोर्टमा  कडा शीघ्र कुपोषण देखिएको थियो भने पाँचसय १७ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ, पत्रकारहरूलाई जानकारी दिने कार्यक्रममा बताइएको छ । जिल्लामा रहेका बालबालिकाहरू मध्ये ५ प्रतिशत बालबालिकामा मध्यम शीध्र कुपोषण र १.५ प्रतिशत बालबालिकामा कडा शीघ्र कुपोषणमा परेका छन् । 

कार्यक्रममार्फत् परीक्षण गर्दा चारसय ५७ गर्भवती तथा सुत्केरी महिलामा पनि कुपोषण देखिएको छ । बजारमा पाईने प्याकिङका खानेकुराको बढी प्रयोग हुने  र पुरक खानेकुरा प्राप्त गर्न नसकेका कारण बालबालिका तथा गर्भवती र सुत्केरी महिलामा कुपोषण हुने गरेको एक अध्ययनले देखाएको छ ।