नयाँ घर हस्तान्तरण

लहरेपौवा, भाद्र २४ गते । विनाशकारी भुकम्पपछि विभिन्न संस्थाहरूको सहयोगमा निर्मित भुकम्प पीडितका नीजि आवासलाई विधिवत रूपमा हस्तान्तरण गरिएको छ । 

उत्तरगया गाउँपालिका वडा नं ५ मा कर्डएड नेपालको आर्थिक सहयोगमा लुमन्ती आवासको लागि सहयोग समूहले निर्माण सहयोग गरेको ६६ घर निर्माण सम्पन्न प्रमाणपत्रसहित  एक विधिवत कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।  

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष पुष्पराज न्यौपाने, उत्तरगया गाउँपालिका वडा नं. ४ का अध्यक्ष केशरबहादुर बुलुन र ५ का अध्यक्ष इश्वर थापा, कर्डएड नेपालकी सन्धा भण्डारीले मन्तव्य राख्नु भएको थियो । 

उत्थानशील समुदाय निर्माण सहयोग परियोजना कार्यक्रमअन्तर्गत कर्डएडको सहयोगमा लमुन्तीले भूकम्प गएपछि रसुवा जिल्लाको साविकको लहरेपौवा र धैबुङ गाविसलाई कार्यक्षेत्र बनाई आवास निर्माण सहयोगलगायतको कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत साविकको लहरेपौवा गाविसको वडा नं. ७ र ९ र धैबुङ गाविसको वडा नं. १, ३ र ४ मा आवास निर्माणमा सहयोग गरिरहेको लुमन्तीका कार्यक्रम संयोजक प्रवेश खनालले जानकारी दिनुभयो । संस्थाको सहयोगमा साविकको २ गाविसमा ३८० भूकम्प प्रतिरोधी घरहरू निर्माण भइरहेका छन् ।