खापा आयोजनाहरूको सार्वजनिक सुनुवाई

कालिकास्थान, भाद्र २८ गते । कालिका गाउँपालिकामा सञ्चालित विभिन्न खानेपानी आयोजनाहहरूको सार्वजनिक सुनुवाई गरिएको छ । लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले एसिएफ/एक्सन अगेन्स्ट हङ्गर/डिएफआडीको आर्थिक तथा प्राविधिक सहयोगमा भुकम्प प्रभावित समुदायमा सञ्चालन गरेको विभिन्न चार खानेपानी आयोजनाहरूको सार्वजनिक सुनुवाई गरिएको हो ।

कालिका गाउँपालिका वडा नं ४ मा सञ्चालन भएको माथिल्लो रूप्सेपानी खापा आयोजनाबाट ५३ घरपरिवार, वडा नं २ मा नै सञ्चालन भएको तल्लो रूप्सेपानी खानेपानी आयोजनाबाट ३२ घरपरिवार लाभान्वित भएका छन् । त्यस्तै वडा नं ४ धुसेनीमा सञ्चालन भएको गिद्देखोला खानेपानी आयोजनाबाट ३४ घरपरिवार र वडा नं ३ को तारूकेमा सञ्चालन भएको  सिस्नुघारी खानेपानी आयोजनाबाट १२ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको संस्थाले जनाएको छ ।

त्यस्तैगरि संस्थाले विभिन्न ६ वटा विद्यालयमा लैङ्गिकमैत्री शौचालय  र बालमैत्री धाराको निर्माण पनि गरेको छ ।  सो कार्यक्रमबाट २ सय ३० जना बालबालिका र ३१ जना शिक्षक/शिक्षिका लाभान्वित भएका छन् ।

नौकुण्ड गापा- वडा नं ५ को ज्वालामुखी प्राविमा बनेको लैङ्गिकमैत्री शौचालय  र बालमैत्री धारा पहिरोको कारण ध्वस्त भएको छ । पक्की जमिनको खोजी गरी पुन सो आयोजना सञ्चालन हुने संस्थाका अध्यक्ष सन्तोष घलेले बताए ।

कालिका गाउँपालिकामा सञ्चालन भएको खापा आयोजना र लैङ्गिकमैत्री शौचालय  र बालमैत्री धारा निर्माण योजनामा ८८ लाख ८४ हजार रूपैयाँ खर्च भएको बताईएको छ ।

खानेपानी आयोजनाहरूको दीगोपनाका लागि मर्रमत सम्भार कोष स्थापना गर्न र शौचालयहरूको सफाई र दीगोपनाका लागि बालक्लबहरूलाई तालिम दिइएको संस्थाले जनाएको छ ।