बेत्रावतीमा ११ हल गोरूको घम्साघम्सी

माघ १ गते, बेत्रावती, रसुवा । परम्परा अनुसार माघे संक्रान्तिको दिन नुवाकोट र रसुवाको दोसाँधमा गोरु जुधाईएको छ । रसुवा, नुवोकाट र धादिङमा यस दिन दिन गोरु जुधाउने परम्परा छ । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । माधेसंक्रान्तिको उत्सव अन्तरगत एउटा परम्परागत परम्परा हो गोरु जुधाउने । गाउँलेहरुले आ आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन् । गोरु जुधाइमा बिजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् ।

यस वर्ष रसुवा नुवाकोट सिमानाको बेत्रावतीमा ११ हल गोरु जुधाईएको हो । पहिला पुर्खादेखि रहेको प्रचलनलाई बिगतको वर्ष झै यस वर्ष पनि गोरू जुधाई परम्परालाई निरन्तरता दिन लागेको बेत्रावती गोरू जुधाई मेला आयोजक समितीका सदस्य सुरज लवटले बताए । गोरू जुधाई मेला हेर्नका लागि यहाँ काठमाण्डौ, धादिङ, ललितपुर लगायत बिभिन्न ठाउँबाट  हजारौं दर्शकहरू अबलोकन गरेका थिए ।

माघे संक्रान्तिको अवसरमा आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइएको छ ।  नुवाकोटको तारुका– ५ चन्दनी स्थित कटहरबोटमा १८ हल गोरु बीच भिडन्त गराइएको हो ।

ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ संग जोडिएको छ । रसुवाको बेत्रावती नेपाल र तिब्बतबिचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकारहरु बताउँछन् ।

नुवाकोटका स्थानीयका अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ति छ ।

रसुवा नुवाकोट सिमानाको बेत्रावतीमा गोरु जुधाईमा गोरू जुधाईमा अष्टमान डंगोल र रामप्रसाद पौडेलेको गोरू उत्कृष्ट गोरू घोषित भएको छ । गोरू जुधाई प्रतियोगितामा विजयी गोरू पालक किसानलाई २ हजार १५ रूपयाँ र सहभागि सवैलाई एक हजर प्रदान गरियो । कल्याणपुरका कृष्ण बिक, बेत्रावतीका गोपी थापा , धैबुङका रामबहादुर तामाङ गेर्खुका बलराम पौडेललाई पुरस्कार प्रदान गरिएको गोरु जुधाई मेला व्यवस्थापक अष्टमान डंगोलले बताउनुभयो ।