बजार विस्तारका लागि अन्तर्क्रिया

कालिकास्थान, असोज,३ गते । स्थानीय उत्पादन तथा बजार विस्तार सम्बन्धि अन्तर्क्रिया सम्पन्न भएको छ । नेपाल कृषिवन प्रतिष्ठानले ''समुदायको अगुवाईमा सामुदायिक पुननिर्माण'' कार्यक्रम अन्तर्गत  स्थानीय उत्पादनको बजारीकरण विकासका लागि उक्त अन्तर्क्रिया गरिएको नेपाल कृषिवन प्रतिष्ठानले जनाएको छ ।

अन्तर्क्रियामा  जिल्ला कृषि विकासका कार्यालयका प्रमुख रमेश हुमागाईले ''रसुवाको कृषिको अवस्था, समस्या र अबको बाटो'' विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कृषि बोलीको प्राथमिकतामा पर्ने तर बजेटको प्राथमिकतामा नपर्ने गरेको बताउँदै हुँमागाईले अबका दिनमा गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । जिल्ला कृषि विकास कार्यालयले किसानलाई पुर्याउँदै आएको सुविधालाई अब गाउँपालिकाले सम्बोधन गर्नुपर्ने भएकोले किसानको हितमा कार्यक्रम तर्जुमा गर्नुपर्नेमा उहाँल जोड दिनुभयो ।

गाउँपालिकाका प्रमुख सीताकुमारी पौडेल 'अधिकारी' ले गाउँपालिकाले कृषकको आवश्यकता पहिचान गरी लगानी गरिने बताउनुभयो । गाउँपालिकामा कृषिका क्षेत्रमा कार्य गर्न आउने गैससलाई एकीकृत भएर कार्य गर्न अभिप्रेरित गर्ने पनि उहाँले बताउनुभयो । गाउँपालिकाका उपप्रमुख भवानीप्रसाद न्यौपानेले वितरणमुखीभन्दा परिणाममुखी कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो । उत्पादन साथै बजारीकरणका लागि गाउँपालिकाले किसानलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

नेपाल कृषिवन प्रतिष्ठानका जिल्ला संयोजक कमलनाथ आचार्यले उत्पादन तथा बजार विकासका लागि जनप्रतिनिधि र गैसस समन्वय गरी अघि बढ्नुपर्ने बताउनु भयो । उन्नत कृषि उत्पादन र बजारीकरणका लागि साझा कार्यक्रमको आवश्यकता रहेको पनि आचार्यले बताउनुभयो ।

कार्यक्रममा अगुवा कृषक, जनप्रतिनिधि, पत्रकार र स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।