पितृमोक्षको लागि सप्ताह सुरू

असोज ५, जिबजिबे, रसुवा । विनाशकारी भुकम्पमा परी जीबन गुमाउनेहरूको आत्मशान्ति र मोक्ष प्राप्तिको कामना गरी नीलकण्ठ महादेव मन्दिर जिबजिबेमा  श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिएको छ । स्थानीय पण्डित नारायण देवकोटा र हरिराम घिमिरेले वाचन गर्नुहुने उक्त सप्ताह ११ गतेसम्म चल्ने मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडेलले बताउनुभयो ।

एक औपचारिक कार्यक्रम गरी सुरुवात भएको उक्त महायज्ञमा पाठ पारायण, पूर्ण संगीतात्मक कथा,  आआफ्ना पितृहरूको नाममा अखण्ड दीप प्रज्ज्वलन, तर्पणका साथै पितृप्रार्थना गरिने कार्यक्म रहेको छ । औपचारिक कार्यक्रममा माननीय सभासद जनार्दन ढकाललाई मन्दिर निर्माणमा सहयोग पुर्याबापत सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, कालिका गाउँपालिकाका प्रमुख सीता पौडेल, उपप्रमुख भवानी न्यौपाने, नौकुण्ड गाउँपालिकाका उपप्रमुख सिर्जना लामा, नेकपा एमालेका जिल्ला अध्यक्ष कर्ण्याल लामालगायतको उपस्थिति रहेको बताइएको छ ।