कालिका  गापाको पार्श्वचित्र निर्माण सुरू

कालिकास्थान, असोज २२ गते । रसुवाको कालिका गाउँपालिकाको पार्श्वचित्र निर्माण कार्य सुरू भएको छ । डिजिटल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी प्रालि र तेजिलो सचेतना समाज नेपालले संयुक्त रूपमा उक्त पार्श्वचित्र निर्माण गर्न लागेका  हुन् ।

संबिधान र  ऐन तथा नियमावलीमा पार्श्वचित्र तयार गरी त्यसैका आधारमा योजना छनौट गर्नु पर्ने व्यवस्था उल्लेख भए अनुसार उक्त पार्श्वचित्र निर्माण गर्न लागिएको हो । गाउँपालिकामा रहेका सबै खालको सूचना संकलन गरी यथार्थपरक ढंगले पार्श्वचित्र निर्माण गर्दा सरोकारवालाहरुलाई विकासका क्रियाकलाप संचालन गर्न अत्यन्त सहयोग पुर्याउने कालिका गाउँपालिकाका अध्यक्ष सीता पौडेल 'अधिकारी' ले बताउनुभयो ।

गाउँपालिकाको पार्श्वचित्र निर्माणमा तथ्य सूचना संकलन गर्नका लागि सर्वेक्षकहरूलाई तालिम प्रदान गरिएको गाउँपालिकाका नायब सुब्बा हरिभद्र सिग्देलले बताउनु भयो । उहाँले पार्श्वचित्र गाउँपालिकाको ऐना भएकोले तथ्यपरक सूचना संकलन गर्न सर्वेक्षकहरूलाई अनुरोध गर्नु भएको छ ।

कार्यक्रम मार्फत् संकलन गरिएका घरधुरी र जनसंख्यालगयातका सूचनाहरूलाई अत्याधुनिक अनलाईन प्रविधिमार्फत् व्यवस्थापन गरिने डिजिटल टेक्नोलोजीले जनाएको छ । उक्त व्यवस्थान प्रणालीमार्फत् सूचनाहरूलाई जन्मदर्ता, बिबाहदर्ता, मृत्युदर्ता र बसाईसराईको रेकर्ड अनुसार निरन्तर पार्श्वचित्र अद्याबधिक गर्न सहयोग पुग्ने बताइएको छ  ।