बामगठबन्धनको चुनावी अभियान तीब्र

स्याफ्रुबेसी, रसुवा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार कार्यलाई व्यवस्थित गर्न रसुवाका बामपन्थी गठबन्धन (एमाले र माओबादी केन्द्र) ले अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यलाई तीब्रता दिएको छ ।

मङसीर १० गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत सुरूवातमा अगुवा कार्यकर्ता अभिमुखीकरण कार्य अन्तर्गत हिजो कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाका केही वडाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

गोसाईकुण्ड गाउँपालिकाका २०० जना अगुवा कार्यकर्तालाई स्याफ्रुबेसीमा अभिमुखीकरण गर्दै पूर्व सभासद तथा बाम गठबन्धन प्रतिनिधि सभाका उम्मेद्वार जनार्दन ढकालले जिल्लामा हुने गरेका अनियमितता अन्त्य गर्नका लागि बामगठबन्धनको जीत हुनु पर्नेमा जोड दिनुभयो । अघिल्लो कार्यकालमा आफूले सुरू गरेको विकास निर्माणका कार्य अधुरो भइका कारण त्यसको पूर्णताका लागि बामगठबन्धनका उम्मेद्वारहरूलाई भोट दिनुपर्ने बताउनुभयो ।

अभिमुखीकरणमा एमालेका पूर्व पार्टी अध्यक्ष तथा पूर्व सभासद छोवाङतेन्जिङ तामाङले अहिलेको बामगठबन्धन जनताको माग भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ का उम्मेद्वार तथा नेकपा (एमाले) का पार्टी अध्यक्ष कर्न्याल लामाले बामगठबन्धनको केन्द्रिय निर्देशन अनुसार निर्वाचनमा खट्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । भेलामा उपस्थित कार्यकर्तालाई तामाङ भाषामा सम्बोधन गर्दै लामाले अन्य दलको लोभलालचामा नफस्न पनि आग्रह गर्नुभयो ।

प्रदेश २ का साझा उम्मेद्वार तथा माओवादी केन्द्रका जिल्ला अध्यक्ष इन्द्र गोतामे (जगतजङ्ग) ले बामगठन्धनको उम्मेद्वारी प्राकृतिक स्रोत सम्पदाप्रतिको अधिकार प्राप्तिको लागि पनि भएको बताउनुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष माधब लामिछानेले बाम एकताको विषयमा विपक्षीले चलाएको हल्लामा नलाग्न सबैलाई आग्रह गर्नुभयो । बाम एकता माओवादी एमालेमा विलय हुने र एमालेमा बिलय हुने नभई नयाँ कम्युनिष्ट पार्टी बन्ने पनि उहाँले बताउनुभयो । 

अभिमुखीकरणमा एमालेका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट,  एमालेका कामीनुर्पु तामाङ, सिङ्गीढिन्दुप तामाङ, माओवादी केन्द्रका लासेन तामाङ, छेसाङ तामाङलगायतले मन्तव्य राखेका थिए ।