विस्थापित युवाद्वारा भलिबल प्रतियोगिता

बेत्रावती, विस्थापित युवा समितिद्वारा उत्तरगया गाउँपालिकाको खाल्टेमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्तिक १२ गतेबाट सुरू भएको प्रतियोगितामा जुनतारा युवा क्लब नेसिङले प्रथम, हाकु सोसाईटीले द्वितीय, नौकुण्ड गाउँपालिका क्लबले तृतीय र हाकु युवा क्लब सान्त्वना पुरस्कार तथा मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पूर्व सांसद तथा आसन्न निर्वाचनका प्रतिनिधि सभा उम्मेद्वार  जनार्दन ढकाल, प्रदेश ख का उम्मेद्वार इन्द्र गोतामे र समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट, उत्तरगया गाउँपालिकाका उपप्रमुख चमेली गुरूङले  प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउनेहरूलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनार्दन ढकाल, अतिथि इन्द्र गोतामे, नयाँशक्ति रसुवाका जिल्ला इञ्चार्ज तेम्ब्रेल तामाङ, समितिका अध्यक्ष प्रेमसिङ्गी तामाङ, सचिव जयराम तामाङ खेल र खेलाडीको महत्वका बारेमा भनाईहरू राख्नुभएको थियो ।

गाउँपालिका उपप्रमुख चमेली गुरूङले भुकम्पबाट थिलथिलो भएपनि युवाहरूमा जोस जाँगर रहेको र यो प्रतियोगिता गरेर भुकम्प पीडित विस्थापितहरूले जुनसुकै कार्य पनि गर्न सक्ने सन्देश प्राप्त भएको बताउनु भएको छ । आर्थिक अभावका कारण खेल आयोजना गर्न कठिनाई हुँदै आएकोमा आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न गाउँपालिका र व्यक्तिगत तवरले सक्दो सहयोग गर्ने पनि उल्लेख गर्नुभयो । 

कार्यक्रममा कलाकारहरू रिया घले, सुमन घले, मनोज थापा र स्थानीय युवायुवतीहरूले सांगितिक प्रस्तुती गरेका थिए ।

उक्त विस्थापित युवा समिति २०७२ बैशाख १२ को भुकम्पबाट विस्थापित भई खाल्टेमा बस्दै आएको युवायुवतीहरूद्वारा निर्माण गरिएको हो ।