नयाँशक्तिका जिल्ला इञ्चार्जसहित १६ जना वामगठबन्धनमा प्रवेश, रसुवा लोकतान्त्रिकलाई ठूलो झड्का  

भक्तपुर, नयाँशक्ति रसुवाका इञ्चार्ज तेम्ब्रेल तामाङ वामगठबन्धनमा प्रवेश गरेका छन् । नयाँशक्ति पार्टीका केन्द्रिय कार्यकारी सदस्य समेत् रहेका तामाङ समानुपातिक बन्दसूचिका उम्मेद्वार पनि हुन् ।

भक्तपुरमा आज भएको कार्यक्रममा नयाँशक्ति पार्टीको अस्तित्व नरहेको भन्दै तामाङसहित १६ जना वामगठबन्धनमा प्रवेश भएका हुन्  । उनीहरूलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वागत र पार्टी प्रवेश गराएका हुन् ।

नयाँशक्ति पार्टीको टिकट नेपाली काङ्ग्रेसलाई बिक्री गरेको आरोप लगाउँदै विभिन्न तह र तप्काका नेता कार्यकर्ता वामगठबन्धनमा प्रवेश गर्ने लहर बढिरहेको छ ।

आज प्रवेश गर्नेहरूमा नयाँशक्ति रसुवाका जिल्ला पार्टी तथा महिला केन्द्रिय सचिवालय सदस्य एवम् उत्तरगया गाउँपालिकाबाट गत स्थानीय निर्वाचनमा उपाध्यक्ष पदका उम्मेद्वार चमेली बिक (शीला), शिक्षक समाज नेपालका केन्द्रिय  परिषद् सदस्य शिशिर न्यौपाने, सम्पर्क संयन्त्र कार्यवाहक अध्यक्ष उदय घिमिरे, जिल्ला कार्यकारिणी सदस्य भीमबहादुर तामाङ, युवा नेता किपदोर्जे तामाङ, काठमाण्डौं सम्पर्क संयन्त्र चेनचेन तामाङ, सकृय सदस्य कामीबहादुर तामाङ, प्रदेश नं २ सदस्य धनबहादुर तामाङ, लाक्पा तामाङ, सेल्कर तामाङ, गोम्बो तामाङ, गोम्बोछिरिङ तामाङ, दावा तामाङ, छिरिङ तामाङ, दिलबहादुर ग्याम्दान, पासाङ लामा रहेका छन् ।

पार्टी प्रवेश गर्दै तामाङले नयाँशक्ति पार्टी छोड्नुको कारणसहित अपिल निकालेका छन् । उनको प्रवेशले वामगठन्धनको जितलाई अझै सुनिश्चित गरेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा यीनै तामाङले देशभरबाट नयाँशक्तिको साख जोगाएका थिए । उनी रहेको गाउँपालिका पार्वतीकुण्डको प्रमुखमा नयाँशक्तिले जितेको थियो । तामाङको वाम प्रवेशसँगै नयाँशक्ति पार्टी रसुवा बिघटनको संघारमा पुगेको छ ।