जिबजिबेमा बालाचतुर्दशी मेला सम्पन्न

जिबजिबे, हरेक वर्ष झैं  दिबंगत पितृहरूको मोक्षका लागि सतबीज छर्ने कार्य सम्पन्न भएको छ । जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडेलका अनुसार आज बिहानैदेखि दिवंगत पितृहरूको मोक्षका निम्ति धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त सतविज र विभिन्न प्रकारका फूलहरु छरेका छन् । 

दिवंगत पितृहरूको मोक्षका निम्ति सतविज छर्ने चलन ठाँउअनुसार आ-आफ्नै खालका रहेको पाईन्छ र माथि उल्लेख गरिए बाहेकका अन्य अन्नहरू जस्तैः चना, तील, मकैहरुका साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा पनि राख्ने चलन रहेको छ ।

यसरी सतविज छर्नका लागि चर्तुदशीभन्दा एकदिन अगाडि नै अर्थात त्रयोदशीकै दिन राती जाग्राम बसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो गरी सतविज छर्ने गरिन्छ । यसरी पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।