रसुवागढी नाकामा अवैध व्यापार रोकिएन, १७ किलो सुन बरामद

रसुवागढी नाका हुँदै चीनको केरुंगबाट नेपाल भित्र्याइएको १७ किलो अबैध सुन प्रहरीले बरामद गरेको छ । शनिबार सीमा प्रहरी चौकी, टिमुरेले उक्त अबैध सुन रसुवाको टिमुरेबाट  बरामद गरेको हो ।

बा.११.च. ७९१८ नम्बरको बोलेरो पिकअप भ्यानको पछाडि फल्स सिलिङ बनाई लुकाई नेपालतर्फ ल्याईएको उक्त अबैध सुन सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले विशेष सुराकीको आधारमा बरामद गरेको हो ।

गाडी चालक पार्वतीकुण्ड गाउँपालिका-५ पाजुङका ३१ वर्षीय पासाङदावा तामाङलाई पक्राउ गरी नियन्त्रणमा लिइएको दाहालले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस अघि पनि रसुवागढी नाका हुँदै पटक-पटक नेपाल भित्र्याइएका अबैध सुन प्रहरीले बरामद गर्दै आएको थियो  ।