नेपाली युवाको आजको अवस्था

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । तर विभिन्न देशले भिन्नभिन्न उमेर समुहलाई युवाको समुह हो भनेर तोकेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष, दक्षिण अफ्रिकाले १५ देखि २९ जर्मनीले १४ देखि २६ भारतले १५ देखि ३५ चीनले १४ देखि २८ फिलिपिन्स र बंगलादेशले १५ देखि ३० वर्षको उमेर समुहलाई युवा मानेको छ ।

दिपक लामा, रेडियो रसुवा -अध्यक्ष 

“यो उमेरमा त ढुङ्गा खाए पनि  पच्छ” भन्ने नेपाली समाजमा एउटा उखान टुक्का छ । यो उमेर भनेको युवा अवस्थालाई भनिएको हो । युवा शक्ति जुन युवा अवस्थामा मानिस स्वास्थ्य निरोगी, जोसिलो जाँगरिलो हुनाका साथै साहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितिको विरुद्ध लड्न सक्ने क्षमता समेत् राख्दछ । युवा अवस्थाको बेला क्रान्तिकारी परिवर्तनशील र अग्रगामी  शक्ति भएर देश परिवर्तन गर्न सफल भएको पनि देशमा घटेका आन्दोलनहरूबाट नमुना देखिइसकिएको छ । तर नेपाली समाजको राजनीतिमा हेर्ने हो, भने अन्तिम अवस्थामा पनि म पनि युवा नेता हुँ भनेर सुन्न पाइन्छ । कुन् उमेर समुहलाई युवा भन्ने मानिसहरू अझै पनि अन्योलमा नै रहेका छन् । 

नेपालको संविधानहरूमा १५ देखि २९ वर्षको उमेर समुहलाई युवा भनेर परिभाषित गरेको पाइन्छ ।  नेपालको संविधान २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहलाई नै युवा भनिएको छ । कृषि विकास मन्त्रालयले ५० वर्ष सम्मलाई नै युवा मानेको छ । नेपालको राजनीतिक पार्टी र सामाजिक संंघ संंस्थाहरूले पनि आफ्नो अनुकुलतामा युवाको परिभाषा गर्दै आएको देखिन्छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । तर विभिन्न देशले भिन्नभिन्न उमेर समुहलाई युवाको समुह हो भनेर तोकेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष, दक्षिण अफ्रिकाले १५ देखि २९ जर्मनीले १४ देखि २६ भारतले १५ देखि ३५ चीनले १४ देखि २८ फिलिपिन्स र बंगलादेशले १५ देखि ३० वर्षको उमेर समुहलाई युवा मानेको छ ।

नेपालको विकास मेरुदण्डको रूपमा रहेका युवा शक्ति १६ देखि ४० वर्षका करिब १ करोड ६ लाख (४०.३५ प्रतिशत) रहेका छन् । राष्ट्रिय युवा परिषद्ले युथ भिजन २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरेको छ । पहिलो समूहका युवालाई शिक्षा, व्यक्तित्व र सीप विकासको चरण मानिएको छ, भने दोस्रो समूहलाई व्यावसाय, स्वरोजगार र आयआर्जन गर्ने समयको रुपमा परिभाषित गरेको छ । 

नेपालमा युवाको अवस्था 
आजभोलि नेपाली समाजमा पहिले जस्तो यूवाहरूको संख्या देख्न पाइदैन । आज भोलि नेपाली समाजमा हेर्ने हो भने Teeth Less  र Youth Less  भएको छ । Teeth Less  भनेको गाउँघरमा बृद्धबृद्धा मात्र देखिन्छ भनेको हो । Youth Less  भनेको गाउँघरमा युवाहरू नै नभेटिने भनिएको हो ।  

हाम्रा देशका यूवाहरू रोजगारीको सिलसिलामा बिदेश जाने प्रक्रिया बढेको छ । कतिको संख्यामा नेपाली युवाहरू विदेशिएका छन् ? हाम्रो नेपाल सरकारसँग यथार्थ तथ्याङ्क छैन । तर करिव ४० लाख नेपाली जनशक्ति संसारको विभिन्न देश रहेको अनुमान छ । नेपाल बैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक बर्ष २०७३÷७४ मा ६ लाख ५८ हजारले श्रम स्विकृति लिएका छन् । श्रम स्विकृति लिनेमध्ये अधिकांश युवाहरू रहेका छन् । यसरी विदेशीने नेपालीहरू अधिकांश १८ देखि ४० बर्ष उमेर समुहकै रहेका छन् । श्रम स्विकृति लिनेमध्ये ३ लाख ६५ हजार मेनपावर मार्फत, बाँकी व्यक्तिगत र रि इन्ट्रीका कामदार छन् । यो तथ्याङ्कलाई आधार मान्ने हो भने प्रत्येक दिन १ हजार ८ सय २ जना नेपाली युवा विदेशिने गरेका छन् । 

ब्रेन ड्रेन  
नेपालको विद्यार्थीहरू पनि अध्ययनका नाममा धेरै बाहिरिने क्रम बढेको छ । गत आर्थिक बर्षमै अध्ययनका लागि ५० हजार ६ सय ५९ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् । यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन् । अष्ट्रेलिया जान चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ । वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसा भने ११ हजार ६ सय २८ जनाले आवेदन दिएका थिए । यसरी अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेशिएका छन् । तर, भिसा भने ९ हजार चार सय ६२ ले प्राप्त गरेका छन् । नेपालको विद्यार्थीहरू नेपाल उच्च शिक्षा लिन विदेश जाने क्रम बृद्धि हुँदा विदेशमा उच्चा शिक्षा हासिल गर्न सकसमा देशको मुद्रा समेत बाहिरी रहेको छ । अस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ । नेपाली विद्यार्थीले नेपाल मै सहज रुपमा गुणस्तर उच्च शिक्षा लिन पाउने वातावरण निर्माण गरि दिए विदेशमा शिक्षा लिन जाने सकसमा देशको मुद्रा देश मै रहने थियो कि ? 

असुरक्षित विदेशको रोजगार 

रोजगारीको सिलसिलामा विदेश गएका नेपाली युवाहरू देश कै मेनपावरहरूबाट ठगिनुका साथै नेपाली चेलीहरू वार्षिक रुपमा दलालद्वारा बेचिनेको संख्या पनि यतिकै छ । गरिवीमा हुर्केका नेपाली युवाहरू भविष्य निर्माणका लागि विदेशिएका युवाहरू ठगिनु र बेचिनुका साथै केही युवाहरू वार्षिक रूपमा मृत्यु भई बक्समा शव भित्रिने गर्दछ । 

गत आर्थिक बर्ष २०७३/७४ मा ६८१ जनाको विदेशमा मृत्यु भएको छ । तीमध्ये महिलाहरूको संख्या १७ जना मात्रै रहेको छ । २०७२÷७३ मा चाँहि ९ सय ५ जनाको मृत्यु भएको तथ्याङ्क छ  । 

त्यति मात्रै होइन नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रकै विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अटाउन सकेको छैन, हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाँउमा उर्वर जमिनहरू बाँझिएको छ । 

रेमिटेन्स 
नेपाली युवा आफ्नै देशमा रोजगारको सम्भावना र वातावरण नभए पछि रोजगारको सिलसिलामा विदेशिनेको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । वर्किङ भिषामा जाने युवाको साथै उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरूले पनि केही समय विदेशमा काम गर्ने आफ्नो समस्या टार्ने र बाँकी रहेको पैसा घर पठाइरहेको समेत् देखिन्छ । विदेशमा नेपालीले आर्जन गरेको रकम कुनैले हुन्डी मार्फत् ता कुनै मनि ट्रान्सफरबाट पठाउने गर्दछन् । नेपाल सरकारसँग मनि ट्रान्सफरबाट मात्रै रकम आएको तथ्याङ्क हुन्छ भने हुण्डीबाट कति रकम आयो भन्ने तथ्याङ्क हुदैनन् तर पनि समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले वृद्धि भई रू.६३३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ११.६ प्रतिशतले वृद्धि भई रु. ७७५ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.१ प्रतिशतले बढेको थियो ।

नेपाली युवाहरूले वार्षिक रूपमा यति धेरै रेमिटेन्स भित्र्याए पनि राज्यले रेमिटेन्सको सही सदुपयोग गर्न सकेको छैन । नेपालीहरूले विदेशमा कमाएको रकमको पनि लगानी गर्ने स्थान नपाउँदा कमाएको रकम विना उत्पादनशील वस्तुमा खर्च भइरहेको छ । त्यति मात्रै होइन नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रकै विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अटाउन सकेको छैन, हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाँउमा उर्वर जमिनहरू बाझिएको छ । 
युवाहरू रोजगारको सिलसिलामा विदेशिदा नेपाल उर्वर जमिनहरू बाँझोमा परिणत भइरहेका छन् । बाँझो राखिएकोले आफ्नो उत्पादन न्यून भएकोले वार्षिक रूपमा सागपात समेत् ठूलो परिमाणमा भारत र चीनबाट आयात गर्नु परिरहेको छ । आयातका कारण विदेशका युवाहरूले रेमिटेन्स भित्र्याए पनि खाद्यान्न खरिदबाट राज्यको मुद्रा बाहिरिदैछ ।  

जिल्ला युवा परिषद्  
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको ७५ वटै जिल्लामा राष्ट्रिय युवा परिषद्ले युवालाई शिक्षा, व्यक्तित्व र सीप विकास व्यवसाय, स्वरोजगार र आयआर्जनमा विकास बृद्धि गर्ने योजनालाई सफल बनाउन जिल्ला जिल्लामा जिल्ला युवा परिषद् गठन गरिएको छ । 

राजनीतिक दलहरूले आफु निकटका युवाहरूलाई जिल्ला युवा परिषद्को नेतृत्व प्रदान गर्दा यो परिषद्बाट युवाको विकास हुने कुनै पनि गतिविधि हुन सकेको छैन । परिषद्का अध्यक्ष वर्षमा दुई वा तीन वटा बैंठक बसेर काठमाण्डौ मै बसेर नेपाल सरकारको अफिसर लेवलको तलब खाइरहेका छन् ।

राष्ट्रिय युवा परिषद्ले वार्षिक रूपमा विभिन्न युवालाई प्रोत्साहन गर्ने कार्यक्रम बजेट विनियोजित गरे पनि जिल्ला परिषद्ले कुनै पनि गतिविधि गर्न नसकेर या परिषद्का अध्यक्ष काठमाण्डौ केन्द्रित भई, तल्लो गाउँगाउँसम्म कार्यक्रमको जानकारी नभएर कार्यक्रमहरू केन्द्रमा मात्र सिमित भइरहेको छ । जिल्ला तथा गाउँतहसम्म राष्ट्रिय युवा परिषद्को युवा विकास वार्षिक कार्यक्रम जानकारी नदिई आफु निकट युवालाई उपलब्ध गराउने समाचारहरू पनि सुनिएको छ । 

युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रान्तिहरूमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले प्रष्ट्याउँछ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरूको भूमिका अतुलनीय छ । नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तनहरू उपलब्धी प्राप्त भए पनि उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधै असफल भएको पाईन्छ । यसका पछाडि पनि थुप्रै कारणहरू हुन सक्छन्, त्यसमध्येको एउटा प्रमुख कारण भनेको नेपाली राजनीतिमा युवाहरूको भूमिका र संलग्नता कम भएर हो । 

राजनीतिमा युवा 
जनतामा राजनीतिक चेतना भएन भने निरङ्कुशताले जरो गाड्दछ । त्यसैले प्रत्येक मानिसमा राजनीतिक चेतना हुनु आवश्यक छ । तर नेपाली नागरिकहरूलाई अहिले राजनीति भन्ने शब्द सुन्ने बित्तिकै घृणा हुने गर्दछ । पहिले हजुरआमा–बाबु र आमा बाबु, परिवारका जेष्ठले टिका लगाएर आफ्ना छोरा–छोरीलाई आशिर्वाद दिँदा ठूलो भएपछि मन्त्री, प्रधानमन्त्री बनोस् भनेर आशिर्वाद दिन्थे, तर अहिले नेता र मन्त्री नबन्नु डाक्टर र इन्जीनियर असल मन्छे बन्नु भनेर आशिर्वाद दिन थालेका छन् । समाजमा पहिला राजनीतिज्ञहरूको सामाजिक मान र प्रतिष्ठा धेरै थियो तर अहिले राजनीतिज्ञहरूको मान र प्रतिष्ठा घट्दो क्रममा छ । यसको एउटा कारण युवा वर्ग राजनीति क्षेत्रमा होमिन नपाउनु पनि हुन सक्छ । 

युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रान्तिहरूमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले प्रष्ट्याउँछ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरूको भूमिका अतुलनीय छ । नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तनहरू उपलब्धी प्राप्त भए पनि उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधै असफल भएको पाईन्छ । यसका पछाडि पनि थुप्रै कारणहरू हुन सक्छन्, त्यसमध्येको एउटा प्रमुख कारण भनेको नेपाली राजनीतिमा युवाहरूको भूमिका र संलग्नता कम भएर हो । 

उदाहरणका लागि केही पार्टीमा कुनै एक युवाले राजनीतिमा काम गर्न अवसर पाए भने पनि काम राम्रो गरेको प्रोत्साहन गर्नुको सट्टा प्रतिस्पर्धीको रूपमा लिएर दवाएर राख्ने संस्कृति नेपालको राजनीतिमा विद्यमान छ ।

नेपालमा सरकार परिवर्तनको औसत हेर्ने हो भने साँढे एक वर्षमा सरकार परिवर्तन हुने गर्दछ ।  तीन चार वर्ष यता हेर्ने हो भने ता नौ महिनामा सिमित छ हाम्रो सरकार । सरकार परिवर्तनको खेल र राजनीतिक अस्थीरताले देश विकास र समृद्ध हुन सकिरहेको छैन ।

त्यही माथि यो देशको विडम्बना दाँत फुक्लेका र दाह्री फुलेका नेताहरूलाई युवा नेताका रुपमा लिइन्छ । हिसाबै गर्ने हो भने हामी जस्ता पच्चीस वर्षिय युवाले तिनैलाई हजुर बा भन्दा हुन्छ । सरकारमा पुगेपछि देश निमार्णमा कम र राज्यको सेवा सुविधा लिई भ्रमण र उपचारको नाममा देश विदेश बढी गुम्ने र राज्यको ढुकुटी दोहन गर्ने गर्छन् हाम्रा नेताज्यूहरू । 

दिनहुँजसो वाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनका आश्रित परिवारका आँशुको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । अनि क्षमतावान युवाहरू आफ्नै देशमा राम्रो काम गर्ने अवसरहरू नपाए पछि भविष्य निर्माण गर्न युरोप र अमेरिकातिर पलायन हुन्छन् । युवाहरू बिदेश पलायन हुनुमा राजनीतिक अस्थिरता हो । यस्ता क्षमतावान युवाहरू विदेश पलायन भएपछि देशको विकास कसरी सम्भव छ ? अनि हामीले अहिलेको संक्रमणकालीन अवस्थाबाट कहिले मुक्ति पाउने ? यस्तै अवस्था रहिरहने हो भने हाम्रा सन्ततिहरूले पनि नेपाललाई संक्रमणकालीन अवस्थाको देशकै रूपमा देख्नेछन ।

राष्ट्रिय युवा दिवस २०१७ को अवसरमा लेखिएको 

जय जय युवा ।